नारायणगढ–मुग्लिन सडकको लागत तीन अर्ब

ए वान डेस्क
१४ बैशाख २०७५, शुक्रबार १९:०८

नारायणगढ–मुग्लिन सडक विस्तारको लागत मूल्य बढेको छ ।

निर्माण सम्पन्न हुनै लाग्दा केही कामसमेत थपिएकाले लागत मूल्य रु ३१ करोड ५२ लाख छ हजार १८१ ले बढेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका निमित्त प्रमुख गोविन्द खनालका अनुसार शुरुमा रु दुई अर्ब ८८ करोड ७० लाख १४ हजार २१० मा ठेक्का दिइएको सो सडकको लागत मूल्य बढेसँगै रु तीन अर्ब २० करोड २२ लाख २० हजार ३९१ पुगेको छ ।

खनालका अनुसार तीन भागमा विभाजन गरेर ठेक्का दिइएको उक्त सडकखण्डको पहिलो खण्डको करीब रु ६० करोड ६१ लाखबाट बढेर करीब रु ६८ करोड ९७ लाख पुगेको छ । खण्ड खमा करीब रु ९७ करोड ६७ लाखबाट वृद्धि भएर करीब रु एक अर्ब १० करोड र खण्ड गमा सबैभन्दा बढी करीब रु एक अर्ब ३० करोडबाट बढेर करीब रु एक अर्ब ४१ अर्ब पुगेको खनालले बताउनुभयो ।

एक वर्षभन्दा बढी समय थपिनु, निर्माण शुरु हुनुभन्दा दुई वर्षअघिको लागत अनुमानअनुसार बोलपत्र गरिनु र कतिपय अत्यावश्यक काम थपिएपछि लागत मूल्य बढेको हो । आयोजनाका परामर्शदाता कम्पनीका आवासीय इञ्जिनीयर पुष्कर रेग्मीका अनुसार थपिएको भित्तो कटाइ, पहिरो पन्छाइ, पर्खाल लगाउने काम, बोलपत्रभन्दा स्तरीय नाली निर्माण र कालोपत्र थप फराकिलो बनाउनेजस्ता काममा खर्च थपिएको हो ।

लागत मूल्य बढेसँगै प्रगति प्रतिशत भने घटेको छ । हालसम्म सडकको ८० प्रतिशत मात्रै सम्पन्न भएको देखिन्छ । यसअघिको कूल लागत मूल्यका आधारमा ९० प्रतिशत काम भए पनि लागत मूल्य बढेपछि प्रगति प्रतिशत घटेको हो । हालसम्म पहिलो खण्ड ७९.७५ , दोस्रो खण्ड ९१.०० र तेस्रो खण्ड ७७.८ प्रतिशत काम सम्पन्न भएको छ । तेत्तीस दशमलव २ किमीको उक्त सडकखण्डको हालसम्म ३० किमी कालोपत्रे भइसकेको छ ।

सो सडकको नारायणगढबाट १६ किमीसम्म ११ मिटर फराकिलो कालोपत्रे गरिँदैछ भने त्यसउता नौ मिटर फराकिलो हुँदैछ । विसं २०७२ वैशाखतिर २४ महिनामा सक्ने गरी सो सडक ठेक्का दिइएको थियो । लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण समय थप गरिँदै आएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*