जीतपुरसिमरामा एकिकृत सम्पती कर लागु गर्ने तयारी, सरोकारवालाले गरे चर्को विरोध

ए वान डेस्क
२६ बैशाख २०७५, बुधबार १५:१४

ए वान डेस्क /

जीतपुरसिमरा उप–महानगरपालिकाले एकिकृत सम्पती कर लागु गर्ने तयारी गरेको छ । नगर उद्योग वाणिज्य संघले आज बिहान जीतपुरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै मेयर डा. कृष्ण पौडेलले जीतपुरसिमरामा एकिकृत सम्पती कर लागु गर्ने तयारी भईरहेको बताउनुभयो ।

एकिकृत सम्पती कर लागु भएपछि सेवाग्राहीहरुले यस अघि जस्तो मालपोत कर, घर जग्गा कर, भूमिकर आदी झै छुट्टाछुट्टै कर बुझाउने झनझट व्यहोर्नु पर्दैन भने चर्को घरजग्गा कर तिर्दै आएका सेवाग्राहीहरुले समेत राहत पाउने छन् । यो निर्णयसंगै करको दायरा फराकिलो हुने विश्वास उप महानगरपालिकाले लिएको छ ।

यहि आउँदो आर्थिक वर्षदेखि उप–महानगरपालिकाले एकिकृत सम्पति कर उठाउने तयारी गरेको बुझिएको छ । एकिकृत सम्पति करमा करको दर कम र दायरा फराकिलो गर्ने तयारी भईरहेको पौडेलले बताउनुभयो । पौडेलका अनुसार एकिकृत सम्पतीकर लागु भएपछि नगरवासी सेवाग्राहीहरुलाइ करको दर समेत आधा सस्तो पर्नेछ ।

तर अन्र्तक्रियामा सहभागी अधिकासं सरोकारवालाले जीतपुरसिमराका जनतालाई एकिकृत सम्पती करको नाममा थप भार बोकाउन नहुने बताए । अहिलेको अवस्थामा सामान्य नागरीकलाई कर तिर्न समस्या हुनेभन्दै उपमहानगरपालिकाले हतार गर्न नहुने उनीहरुले बताए । जनतालाई भन्दा उप–महानगरभित्रका सबै संघ–संस्था र बिद्यालयलाई करको दायरामा ल्याउनुपर्ने उनीहरुको भनाई थियो ।

नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय शाहको अध्यक्षतामा सम्पन्न अन्र्तक्रिया कार्यक्रममा उप–मेयर सरस्वती चौधरी, प्रशासकिय अधिकृत रामप्रसाद उप्रेती, वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ता, समाजसेवी मुकुन्दबहादुर क्षेत्री, माओवादी केन्द्रका केन्द्रिय सदस्य राजन पौडेल, नगर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मोहन शर्मा लामिछाने लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संघका महासचिव शिवजि शाह सोनारले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*