२० दिनपछि खुल्यो अंकित हत्याको रहस्य : आफन्तकै मिलेमतोमा घटना भएको खुलासा

ए वान डेस्क
२० श्रावण २०७५, आईतवार २०:५२

ए वान डेस्क /

आफन्तकै मिलेमतोमा जीतपुर निवासी अंकीत गुप्ताको अपहरणपछि हत्या भएको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय बाराले सिमरामा पत्रकार सम्मेलनको आयोजना गर्दे आफन्तकै मिलेमतोमा अंकितको अपहरणपछि हत्या भएको बताएको छ ।

घटना भएको २० दिनपछि पत्रकार सम्मेलनको आयोजना गर्दे जिल्ला प्रहरी कार्यालय बाराले घटनामा संलग्न ४ जनालाई पक्राउ गरी आज शार्वजनीक गरेको हो । घटनामा संलग्न ४ जना अभियुक्त शार्वजनीक गर्दै बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जित सिंह राठौरले अंकीतको हत्या आफन्तमा भिनाजुपर्ने प्रदिप कुमार कलवारकै मुख्य योजनामा भएको जानकारी दिनुभयो ।

घटनाका मूख्य योजनाकार भनिने कलवार वीरगञ्ज महानगरपालिका १३ रानीघाट निवासी हुन् । प्रहरीले कलवारसहित पर्सा जिल्ला पोखरिया नगरपालिका ७ घर भइ हाल वीरगञ्ज बस्ने सिपाही भनिने रामप्रवेश साह, पर्सा गोविन्दपुर घर भई वीरगञ्ज महानगरपालिका २४ बस्ने पार्वती देबी र भारत विहार पश्चिम चम्पारण जोगापट्टी थाना बस्ने सुरज गीरीलाई आज शार्वजनीक गरेको हो ।

कलवारकै योजना अनुसार गत जेठ २२ गते बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुर बजारबाट अंकीतको अपहरण भएको र फिरौती रकम समेत लिएर गत साउन १ गते हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरिक्षक राठौरले जानकारी दिनुभयो ।

यसरी भएको थियो घटना

प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार प्रदिपको रामप्रवेसंग पहिलेदेखीकै चिनजान थियो । पेशाले सवारीचालक रहेका रामप्रवेशलाई प्रदिपले बच्चाको अपहरण गरि फिरौती असुल्ने योजना सुनाए ।

आर्थिक प्रलोभनमा परे पछि रामप्रवेशले प्रदिपको योजना अनुसार जीतपुर बजारमा आएर बच्चाको गतिविधि निगरानी गर्ने कार्यमा प्रदिपलाई सहयोग गरे । केहि समयदेखी बच्चाको गतिविधि नियालीरहेका उनीहरुले जेठ २२ गते साँझ अंकीतलाई जीतपुर बजारबाट अपहरण गरी मोटरसाइकलमा राखेर लगेको प्रहरीको भनाई छ ।

नातामा भिनाजु पर्ने प्रदिपले बोलाएपछि अंकीत मोटरसाइकलमा बसेको र उनीहरुले जीतपुर पछाडीबाट पर्सा जिल्लाको बाटो हुँदै वीरगञ्ज पुर्याएका थिए । ‘भिनाजुलेनै लगेकाले बच्चा लैजान उनिहरुलाई सहज भएको देखिन्छ’ प्रहरी प्रवक्ता राठौरले भने ।

बच्चाको अपहरणपछि पार्वती देबी र सुरज गीरिले बच्चा लुकाउने र फिरौती बुझ्ने कार्यमा भूमिका खेलेको प्रहरीले जानकारी दियो । अपहरणकारी रामप्रवेशकी भाउजु पार्वतीदेवीले बच्चाको रेखदेख गर्ने र वालकको परिवारसँग फिरौती बुझ्ने कार्यमा सहयोग गरेको प्रहरीको भनाई छ ।

पारिवारिक श्रोतलाई उद्दृत गर्दै बारा प्रहरीले जनाए अनुसार उनिहरुले दुई पटक गरेर कुल ६४ लाख भारतिय रुपैयाँ फिरौती लिएका थिए । भारतमा फिरौती बुझेका उनिहरुले सुरजमार्फत पटक पटक परिवारलाई धम्काउने र फिरौती माग्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

अपहरणको मुख्य योजनाकार प्रदिपलाई बच्चाले राम्ररी चिन्ने भएकाले उनिहरुले फिरौती बुझेपछि वालकको हत्या गरेको प्रहरीको भनाई छ । ‘भिनाजुनै भएकाले अप्ठ्यारोमा पर्न सक्ने भन्दै प्रदिपकै योजनामा बालकको हत्या भएको देखिन्छ’ प्रहरी प्रवक्ता राठौरले भने । बारा प्रहरीले अपहरणमा प्रयोग भएको विआर २२ जे ४७५७ नम्बरको भारतिय मोटरसाइकल, ८ एमएमको २ थान गोली र ७ लाख १५ हजार रुपैयाँ रामप्रवेशको घरबाट बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारा, जिल्ला प्रहरी कार्यालय पर्सा, नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो सिआइबी र २ नम्बर प्रदेश प्रहरी कार्यालय र भारतिय प्रहरीको  संयुक्त पहलमा घटनाको अनुसन्धान गरि चारजनालाई पक्राउ गरिएको र घटनामा अन्य व्यक्तिको समेत संलग्नता हुन सक्ने भएकाले थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*