जनकपुरमा प्रेस काउन्सिलको प्रदेशस्तरीय तालीम
मुख्यमन्त्री लालबाबु राउतले सञ्चारक्षेत्रको वृत्ति विकासका लागि प्रदेश सरकार तत्पर रहेको बताउनुभएको छ ।
प्रेस काउन्सिल नेपालले आजदेखि जनकपुरमा आयोजना गरेको प्रदेशस्तरीय पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण तालीमलाई सम्बोधन गर्नुहुँदै उहाँले मधेशका पत्रकारसँग हुँदै आएको विभेद अन्त्य गर्न प्रदेश सरकार हरेक कदम चाल्न तयार रहेको उल्लेख गर्नुभयो । उहाँले पत्रपत्रिकाको वर्गीकरणमा भेदभाव हुँदै आएकोले प्रदेश सरकारले छुट्टै प्रदेशस्तरीय प्रेस काउन्सिल गठन गर्न तयारी गरेको जानकारी गराउनुभयो ।
उहाँले पत्रकारलाई सत्य र निष्पक्ष कलम चलाएर प्रदेशलाई समृद्धिको बाटोमा लैजान सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले आमसञ्चार प्रतिष्ठानसमेत गठन गर्न लागेको जानकारी गराउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ, महासङ्घका प्रदेश अध्यक्ष दिपेन्द्र चौहान, सचिव गुरु प्रसाद गौतम लगायतको उपस्थित थियो ।















