सिमरा महोत्सवको तयारी अन्तिम चरणमा

ए वान डेस्क
४ पुष २०७५, बुधबार १२:१६

ए वान डेस्क /

बाराको सिमरामा यही पुष ६ गतेदेखि शुरु हुने दोस्रो औद्योगिक व्यापार कृषि मेला तथा खेलकुद महोत्सव २०७५ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । आयोजक मुल समारोह समितिका संयोजक आरिफ हुसेनले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको ए वान समाचारलाई जानकारी दिनुभयो ।

बिभिन्न उप–समितिमार्फत मेलाको काम धमाधम भईरहेकोभन्दै उहाले तयारी लगभग पुरा भएको बताउनुभयो । ‘फिल्डको सबै काम लगभग सकिनै लाग्यो, उद्घाटनको तयारीपनि पुरा हुनै लागेको छ’ स्थानीय आयोजक सिमरा फाउण्डेशनका अध्यक्षसमेत रहनुभएका संयोजक हुसेनले भन्नुभयो ।

आपसी सदभावको पहिचान, सिमरालाई व्यापारीक केन्द्र बनाउने हाम्रो अभियान भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको महोत्सव यही पुष ६ गतेदेखि १६ गतेसम्म सिमरा रंगशालामा हुदैछ । वडा नम्बर १ स्थित सिमरा रंगशालामा हुने महोत्सवमा यसबर्ष स्थानीय उत्पादनलाई जोड दिने तयारी स्थानीय आयोजकले गरेको छ ।

सामाजिक कार्यलाई उच्च प्राथमिक्ता दिदै यसबर्ष पनि बिगतमा झै भब्य रुपमा महोत्सव आयोजना गर्न लागिएको संयोजक हुसेनले बताउनुभयो । महोत्सवको उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम छ ।

सिमरा महोत्सवमा यसबर्ष मुख्य आकषर्णको रुपमा धरहरा, स्वयम्बु, गौतम बुद्धको माया देवी मन्दिर र हात्तिको ठुलो प्रतिमा रहने आयोजकले जनाएको छ । यसबर्ष महोत्सवमा सिमरा फाउण्डेशनका साथै औद्योगिक शान्ति नेपाल, नव दुर्गा युवा क्लब सिमरा, हाम्रो समन क्याम्प सिमरा, सामुदायिक बिकासशिल क्लब सिमरा, भेट्रान्स क्लब सिमरा समेत आयोजकको रुपमा रहने आयोजक मुल समारोह समितिका महासचिव शैलेस राज अर्यालले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*