बारामा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलको लागि ३८ करोड बढी मुआब्जा वितरण
बारामा निर्माण गर्न लागिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले ओगट्ने नम्बरी जग्गा र भौतिक संरचनाको लागि ३८ करोड मुआब्जा वितरण गरिएको छ।
विमानस्थलले ओगट्ने जग्गा धनीहरुलाई मुआब्जा लिन आउनको लागि निकालिएको सार्वजनिक सूचनापछि १ सय ३३ जना जग्गा धनीहरुले मुआब्जाको लागि सुरुमा निवेदन दिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन एकाई कार्यालय सिमराले जनाएको छ। दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन एकाई कार्यालयका निर्देशक ओम शर्माले विमानस्थलको लागि अधिग्रहण गरीएको लगभग ५८ विघा जग्गाको १३३ जना जग्गा धनीहरुलाई ३८ करोड भन्दा बढी मुआब्जा वितरण गरिएको बताए ।
पछिलो समय निवेदन दिएका १२ जना जग्गा धनीहरुको पाँच बिघा जग्गाको मुआब्जा दिएर अधिग्रहण गर्नको लागि मालपोत, नापी र भुमि सुधार कार्यालयमा चेकजाँच गराउने कार्य सुरु गरीएको शर्माले बताए । ‘मुआब्जाकै लागि ऐलानी जग्गामा बसेका ८ जना समेतले निवेदन दिएको छन्,’ शर्माले भने, ‘ऐलानी जग्गामा बसोवास गरेकाहरुलाई अहिले मुआब्जा दिने कार्यमा कानुन अभावले समस्या भएको छ।’
टाँगिया वस्तीलाई मात्रै स्थानान्तरण गर्न सकियो भने त्यस स्थानमा चार किलोमिटर लामो धावनमार्ग निर्माण गर्न सकिने अवस्था रहको उनले बताए। टाँगिया वस्तीलाई स्थानान्तरण गर्नको लागि सरकारले चाडो भन्दा चाडो नीति नियम बनाउन आवश्यक रहेको शर्माले बताए।
चालु आर्थिक वर्षमै विमानस्थलको लागि अधिग्रहण गरीने एक सय १० बिघा नम्बरी जग्गाको मुअब्जा दिने गरी कार्यहरु तिव्रताका साथ अगाडी बढाइएको र त्यसको लागि बजेट रकमको व्यवस्था मिलाइएको शर्माले दाबी गरे । निर्माण हुन लागेको दोस्रो विमानस्थलको लागि अधिग्रहण गरीने जग्गा मध्ये एक सय १० विघा मात्रै नम्बरी जग्गा पर्ने यकिन गरीए पनि अहिले नम्बरी जग्गाको क्षेत्रफल घटबढ हुने सम्भावना समेत रहेको आयोजनाका अधिकारीहरुले बताएका छन्।
‘अहिले विमानस्थल निर्माण गर्नको लागि आवश्यक पर्ने ११ हजार आठ सय ७५ बिघा जग्गाको चार किल्ला पहिचान गरी सिमांकन गरिएको छ,’ शर्माले भने, ‘सिमांकन गरीएको ११ हजार सात सय ६५ बिघा जग्गाा मध्ये अधिकांश जंगलको केही ऐलानी जग्गा रहेका छन्।’
जग्गा तथा होटेल व्यवसायी इच्चा बहादुर वाग्लेले टाँगिया बस्तीमा निर्माण गर्न लागिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल धेरै बर्ष देखि बन्ने हल्ला गरिए पनि त्यस अनुसार पहिला देखि काम नभएको गुनासो गरे। अहिले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने क्षेत्रलाई सुरक्षित गर्नको लागि तारवारले घेर्ने कार्य गरिए पनि त्यस स्थानबाट टाँगिया बस्तीलाई कसरी स्थानान्तरण गर्ने हो त्यसको बारेमा पनि सरकारले ठोस निर्माण गर्न जरुरी देखिएको उनले बताए ।
देशको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा २०५१ साल देखी नै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने हल्ला गरिए पनी अहिले आएर मात्रै सरकारले यसको निर्माणमा लागेको जस्तो अनुभुति भएको निजगढ नगरपालिकाका प्रमुख सुरेश खनालले बताए । सरकारले विमानस्थलको निर्माण कार्यमा जनशक्ति खटाए पनि छिटो भन्दा छिटो यसको निर्माण गर्न तिर सरकार गम्भीरताका साथ लाग्नु पर्ने प्रमुख खनालले बताए ।
विमानस्थलको डिपिआर तयार गर्ने कन्सल्टेन्टको छनौट प्रक्रिया सुरु गरिएको र यसको डिपिआर तयार भएपछि मात्रै यो कुन आधारमा निर्माण गर्ने प्रष्ट हुने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका ईन्जिनियर बिजय यादवले बताए। निर्माण गर्ने प्रक्रिया अगाडी बढाइएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण एकै पटकमा पुरा गर्न नसकीने भएकोले यसलाई तीन चरणमा निर्माण गर्न सकिने प्राधिकरणका अधिकारीहरुले बताएका छन् ।
दक्षिण एसियाकै सबै भन्दा बढी क्षेत्रफलमा निर्माण हुने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल पूर्णक्षमतामा सञ्चालन हुँदा वार्षिक ६ करोड यात्रु व्यवस्थापन गर्न सकिने आयोजनाका अधिकारीहरुले बताएका छन् ।















