‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत मुख्यमन्त्रीद्वारा साइकल वितरण
प्रदेश नं २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत बिहीबार सप्तरीको बलानबिहुल गाउँपालिकामा साइकल वितरण गरिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित समारोहमा मुख्यमन्त्री लालबाबु राउतले त्यस क्षेत्रका सामुदायिक विद्यालयमा नियमित पढन जाने कक्षा ९ मा अध्ययनरत ७० छात्रालाई साइकल वितरण गर्नुभयो ।
सो अवसरमा उहाँले भौतिक पूर्वाधारको विकासले मात्र समग्र विकास सम्भव नरहेकाले सामाजिक रुपान्तरणका लागि ‘बेटी पढाउ बेटी बचाउ’ अभियान आवश्यक रहेको बताउनुभयो ।
छोरी जन्मिनेबित्तिकै अब लाखपति भएर जन्मिने बताउँदै मुख्यमन्त्री राउतले महिला सशक्तीकरणका लागि प्रदेशमा माघदेखि जन्मिने छोरीका लागि रु एक लाखको शिक्षा बीमाको नीति शुरु गरिएको जानकारी दिनुभयो ।
अभियानमा मुख्यमन्त्रीको नाम जोडिए पनि कार्यक्रममा सबैको सक्रिय सहभागिता आवश्यक रहेको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री राउतले भन्नुभयो, “महिला हिंसा, दाइजो उन्मूलन, बालविवाह, बोक्सी प्रथा, छुवाछुत निर्मूल गर्न ल्याइने कानूनमा कडा प्रावधान राखिने छ ।”
प्रदेश नं २ मा महिला शिक्षाको स्तर सबैभन्दा कमजोर रहेकाले स्तर उकास्नका लागि छोरीले पढ्ने वातावरण राम्रो बनाउन उनीहरूलाई साइकल वितरणलगायत विभिन्न कार्यक्रम शुरु गरिएको अभियानकी प्रमुख प्रियंका यादवले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।















