छिमेकी र चिनजानकै व्यक्तिबाट बलात्कार

ए वान डेस्क
८ फाल्गुन २०७५, बुधबार ११:५५

सिन्धुलीमा भएका बलात्कारका घटनामा छिमेकी र चिनजानकै व्यक्तिबाटै बलात्कार हुने गरेको पाइएको छ । नजिकका व्यक्तिबाट नै बलात्कारका घटना घटेको र बालिका बढी यसको सिकार बनेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्कले देखाएको हो ।

सिन्धुलीमा विगत तीन वर्षको तथ्याङ्कअनुसार १६ वर्षभन्दा मुनिका बालिका बढी बलात्कारको सिकार भएको पाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।

उमेर समूहका आधारमा आर्थिक वर्ष २०७२/७३ देखि तीन आवमा १६ वर्षभन्दा मुनिका १४, १६ वर्षदेखि २५ वर्ष उमेर समूहका किशोरी आठ, २५ वर्षदेखि ३५ वर्ष उमेर समूहका पाँच र ४५ वर्षभन्दा माथिका छ बलात्कृत भएको उहाँको भनाइ छ । यसबाट सबैभन्दा बढी बालिका पीडित बनेका छन् ।

सबैभन्दा बढी १६ वर्षभन्दा मुनिका बालिका नै पीडित रहेको र अघिकांश बलात्कारका घटनामा छिमेकी र चिनजानका व्यक्ति नै पीडक रहेको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो । उहाँका अनुसार आव २०७२÷७३ देखि तीन आवभरिमा छिमेकीबाट १८, चिनजानका व्यक्तिबाट १५ र अपरिचित व्यक्तिबाट दुई यस्ता घटना भएका छन् ।

जसमा निरक्षर व्यक्तिबाट छ, सामान्य लेखपढ गर्न सक्ने व्यक्तिबाट १९, एसइई पास गर्ने व्यक्तिबाट चार र सोभन्दा माथि शैक्षिक योग्यता भएको व्यक्तिबाट एक घटना घटेको छ । जबरजस्ती करणीका घटना न्यूनीकरणका लागि आवश्यक जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै प्रहरी उपरीक्षक सिंहले त्यस्ता कार्यक्रमतर्फ प्रहरी अग्रसर हुने बताउनुभयो ।

बलात्कार हुनेमा विवाहितभन्दा पनि अविवाहितको सङ्ख्या धेरै रहेको छ । तीन वर्षको तथ्याङ्क हेर्दा पनि विवाहित ११ र अविवाहित २७ बलात्कारको सिकार भएको पाइयो, हालसम्म आव २०७२/७३ मा १५, २०७३/७४ मा १२ र चालू आवको सात महीनामा ११ घटना जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा दर्ता भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*