फेरि अनसन बस्ने गोविन्द केसीको चेतावनी
प्राध्यापक डाक्टर गोविन्द केसीले फेरि अनसन बस्ने चेतावनी दिएका छन् ।
बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै डा. केसीले विगतका अनसनका क्रममा आफूसँग भएका सम्झौता कार्यान्वयन गरिनुपर्ने, संसदमा दर्ता भएको शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जाल सम्बन्धी विधेयक सच्याइनु पर्ने लगायतका माग राखेका छन् ।
नागरिकले देशमा हुने गरेका दण्डहीनता र कुशासन विरुद्ध सडक र सामाजिक सञ्जालबाट सम्बन्धित निकायलाई जिम्मेवार बनाउँदै आइरहेको बेला सामाजिक सञ्जाललाई नै नियन्त्रण गर्नेरी विधेयक ल्याइन खोजिएको केसीको आरोप छ ।
केसीले पदीय दुरुपयोग गरेपछि हटाइएका तर कारबाहीमा नपरेका अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमान सिंह कार्की तथा सर्वोच्च अदालतका तत्कालीन प्रधानन्याधीश गोपाल पराजुलीलाई समेत कानुन अनुसार कारवाही गर्न माग गरेका छन् । माग पूरा नभए जुनसुकै बेला आफूले १७ औँ अनसन सुरू गर्न सक्ने केसीले चेतावनी दिएका छन् ।
डा. केसीले १६ औँ अनसन सरकारसँग कुनै सहमति बिनै माघ १८ गते तोडेका थिए ।















