बिचौलियाको अखडा बन्दै सिमराको ‘मालपोत कार्यालय’, लेनदेन दोब्बर भएपछि ….
प्रदिप गौतम /
जतिबेला सिमरामा मालपोत र नापि कार्यालय स्थापना गर्ने निर्णय प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले गर्यो, त्यसबेला यस क्षेत्रका सेवाग्राही निकै खुशि भएका थिए । कलैया जानुपर्ने झनझट अन्त्य भएकोभन्दै यस क्षेत्रका सेवाग्राहीले सरकारको निर्णयको स्वागत गरेका थिए ।
साना तिना बिबादका बिच सिमरामा मालपोत र नापि कार्यालय स्थापना पनि भयो । कलैया पुगेर सेवा लिनुपर्ने झनझट, त्यसमाथि बिचौलियाको बिगबिगि । यी सबै समस्या बर्षौदेखि झेल्दै आएका सेवाग्रही सिमरामा स्थापना भएको मालपोतबाट भने सरल र सहज तरिकारले सेवा लिन पाउनेमा आशावादी थिए । तर सिमरामा मालपोत कार्यालय स्थापना भएको झन्डै १ बर्ष पुग्नै लाग्दा पनि सेवा बिस्तारमा खासै सुधार भएको देखिदैन् ।
जसरी कलैयामा सेवाग्राहीले सेवा लिन्थे, त्यहि तरिकारले नै सिमरामा सेवा लिन सेवाग्रँही बाध्य छन् । बर्षौसम्म कलैयामा बिचौलियको चंगुलबाट मुक्त हुन नसकेका सेवाग्राही सिमराको मालपोतमा पनि त्यस्तै अवस्था देख्दा निकै दिक्क छन् । कलैयामा अहिले पनि सेवाग्राहीको काम बिचौलियाले नै गर्ने गरेका छन् ।
कमिसनको चलखेलमा मालपोतका कर्मचारीसमेत परेपछि त सेवाग्राहीलाई सहज तरिकारले काम गर्न निकै सकस हुदै आएको छ ।
कागज पत्र आफै खोज्छन् लेखापढि
मालपोत कार्यालय छेउछाउमा अहिले १ दर्जनभन्दा बढि लेखापढि व्यवसायीले सेवाग्राहीको काम गर्दे आएका छन् । त्यहा काम गर्ने लेखापढि व्यवसायीको आ–आफ्नै सेवाग्रँही छन् ।
तिनै सेवाग्राहीको काम गर्न बिहान १० बजेदेखि साझ ५ बजेसम्म कार्यालयको काममा तल्लिन हुन्छन् । तर त्यति मात्र भए त ठिकै हुन्थ्यो, लेखापढि व्यवसायी कार्यलयभित्रै पसेर आफै काम गर्न थाल्छन् । अनुमति बिनै प्रवेश गर्ने लेखापढि व्यवसायीहरु आफै कागज पत्र खोज्दै काम गर्ने गरेका छन् ।
आफै कार्यालयभित्र जाने अनि सेवाग्राहीको कामपनि आफैले गर्ने प्रवृति मालपोत कार्यालयमा हाबि भएको छ । बिचौलिया बनेर कार्यालय प्रवेश गर्ने लेखापढि व्यवसायीको हर्कत कार्यालय प्रमुखलाई पनि थाहा छ तर पनि लेखापढि व्यवसायीले कार्यालय प्रमुखको हात बाधेर राखेका छन् ।
सिमरामा लेनदेनको दर बढि
मालपोत कार्यालयमा लेनदनको काम हुन्छ भन्दा कसैलाई पनि अनौठो नलाग्ला । तर कलैया भन्दा सिमरामा मालपोतको काम गर्न लेनदेन बढि भयो भन्दा चाहि अच्चम लाग्नु स्वभाविक हो । केहि मात्रामा भएपनि सुधारको अपेक्षा गर्दे आएका सेवाग्राही कलैयाभन्दा सिमरामा दोब्बर नै पैसा दिन बाध्य छन् ।
कमिसनको दरपनि कलैयाभन्दा बढि लिदा आफु मारमा परेको बताउने एक जना सेवाग्राही नाम नबताउने शर्तमा यसो भन्छन् ‘कमिसन त दिनु नै पर्छ, तर यहा त दोब्बर नै रहेछ’ । सरकारले सेवाग्राही आफैले भर्न सक्ने सरल र सहज तरिकाको निवेदन ल्याएपनि मालपोत कार्यालय सिमरामा लागु नहुदा मनलाग्दि रकम दिन सेवाग्राही बाध्य भएका छन् ।
स्रोतका अनुसार अहिले मालपोत कार्यालय सिमरामा लेखापढी व्यवसायीहरुले अवस्था हेरेर प्रति निवेदन २ देखि ५ हजारसम्म रकम लिदै आएका छन् ।
यसो भन्छन् कार्यालय प्रमुख
मालपोत कार्यालय सिमराका प्रमुख मदन गुप्ताले आफ्नो कार्यालयमा बिचौलियको बिगबिगि नभएको बताउनुभएको छ । सरकारले सेवाग्राहीको सुविधाका लागि ल्याएको फारम कार्यनवयन गर्न सकिने अवस्था नरहेकोभन्दै भन्नुभयो ‘सरकारको नया निति लागु गर्यो भने लेखापढी व्यवसायी आन्दोलनमा उत्रिन्छन्, त्यसकारण कार्यान्वयन गर्न सकिने अवस्था म देख्दिन्’ ।
लेखापढि व्यवसायीले सेवाग्राहीको काम गर्नुपर्छ । तर कार्यालय भित्रै पसेर अरु सेवाग्राहीको काम नै बिग्रिने गरी काम गर्नु गराउनु राम्रो हैन् । यो बिषयमा सम्बन्धीत निकाय जनाखो हुन जरुरी छ । यस बिषयको फलोअप तपाईले क्रमश ए वान समाचारमा हेर्न सक्नुहुनेछ ।















