डीपीएल तेस्रो संस्करणको उपाधि सीवाईसी अत्तरियालाई
तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल)को उपाधि सीवाईसी अत्तरियाले जितेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको फाइनलमा महेन्द्रनगर युनाइटेडलाई पराजित गर्दै सीवाईसी अत्तरियाले उपाधि उचालेको हो ।
टस जितेर पहिला ब्याटिङ रोजेको महेन्द्रनगरले २० ओभरमा सबै विकेट गुमाएर १२३ रन जोडेको थियो । मध्यम लक्ष्य पछ्याएको अत्तरियाले डीपीएल तेस्रो संस्करणको उपाधि उचालेको हो ।
अत्तरियाका लागि सन्नी पट्टेलले सर्वाधिक ४७ रन जोडे । १२४ रनको लक्ष्य पछ्याएको अत्तरियाले ३ विकेटको जित दर्ता गरेको हो । एक बल बाँकी हुँदा सन्नीले छक्का प्रहार गर्दै जित निश्चित गरेका हुन् । सन्नीले सर्वाधिक ४७ रन बनाए । २६ बलमा तीन छक्का र तीन चौकाको सहयोगमा उनले ४७ रन बनाएका हुन् ।
अत्तरियाका लागि जयकिसन कोल्सावालाले ३० रन जोडे भने कप्तान दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् ।
पहिलो ब्याटिङ गरेको महेन्द्रनगरका लागि सर्वाधिक ४३ रन दिलिप नाथले जोडे। उनले ४१ बलको सामना गरेका थिए। कुशल मल्लले २२ बलमा २५ रन जोडे भने रोहितकुमार पौडेलले २० बलमा २४ रन जोडे। ओपनर मोहम्मद नाभिदले ५ बलमा १० रन बनाए।
अत्तरियाका लागि कप्तान दीपेन्द्र सिंह ऐरी र दीपेन्द्र रावतले दुईदुई विकेट लिए। भारतीय खेलाडी सन्नी पट्टेलले एक विकेट लिए ।















