कांग्रेस उम्मेदवार थापा एमाले युवाको नियन्त्रणमा

ए वान डेस्क
२५ मंसिर २०७४, सोमबार १३:४१

इलाम—मौन अवधिमा उम्मेदवारले चुनावी भेला गराएको भन्दै नेकपा एमालेका कार्यकर्ताले इलाम निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभाका नेपाली कांग्रेस उम्मेदवार केशव थापालाई सडकमै नियन्त्रणमा लिएका छन्।

उम्मेदवार थापाले भने आफू बिरामी हेर्न गाउँ गएको दाबी गरे। ‘बिरामी हेरेर फर्किंदै थियौं, युवाले बाटामा एकछिन एसोउसो गरे नि !’ थापाले नागरिकन्युजसँग भने।
बुधबार बिहान इलाम नगरपालिकाको सिङफ्रिङ गाउँ पुगेर फर्किंदै गरेका उम्मेदवार थापा र इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठसहितलाई स्थानीय युवाले करिब २० मिनेट बाटो छेकेका हुन्। गाउँबाट इलाम बजारतिर फर्किंदै गरेका थापालाई स्थानीय युवाको समूहले अगाडिबाट गाडी तेस्र्याएर बाटो छेकेको प्रहरीले जनाएको छ।

‘घटनास्थल पुगेर थापालाई हामीले बाटो खुला गरायौं,’ जिल्ला प्रहरीका डिएसपी रमेश बस्नेतले भने, ‘दुवै पक्षलाई राखेर छलफल गरौं भनेर सम्झाएपछि युवाले बाटो खोलिदिए।’ मौन अवधिमा उम्मेदवारहरू कतै बाहिर हिँड्दा अशान्ति निम्तिन सक्ने प्रहरीले जनाएको छ। स्थानीय एमाले युवक निरोज राउतले सिङफ्रिङका एक स्थानीयको घरमा बुधबार बिहान नेपाली कांग्रेसले निर्वाचन आचारसंहिताविपरीत चुनावी भेला आयोजना गरेको दाबी गरे। ‘भेला सकिएर थापाको पछि–पछि कांग्रेस कार्यकर्ताको हुल नै आएको थियो,’ राउतले भने, ‘आचारसंहितविपरीत किन भेला आयोजना गर्न दिइयो भन्ने हाम्रो प्रश्न हो।’

उम्मेदवार थापाले भने आफू बिरामी हेर्न गाउँ गएको दाबी गरे। ‘बिरामी हेरेर फर्किंदै थियौं, युवाले बाटामा एकछिन एसोउसो गरे नि !’ थापाले नागरिकन्युजसँग भने। वडाध्यक्ष श्रेष्ठले सिङफ्रिङका राम रायको अनुरोधमा आफूहरू स्थानीय एक युवाको घरमा बिरामी हेर्न गएर फर्किंदै गर्दा एमालेका युवाले बाटोमा भेट्टाएको बताए। ‘टाउको दुखेका बिरामी रहेछन्, हेरेर फर्किंदै थियौं,’ वडाध्यक्ष श्रेष्ठले भने।

डिएसपी बस्नेतले गएराति रातभर पनि सयौं मोटरसाइकल मेची राजमार्ग र आसपासमा दोहोरीलत्ता कुदेको बताए। आफूहरूले सम्भावित अशान्ति निम्तिन नदिएको उनले दाबी गरे। मंगलबार राति जिल्लाकै वडा १२ साङरुम्बामा वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबीच सामान्य झडपसमेत भएको जिल्ला प्रहरी प्रमुख एसपी विपीन कर्माचार्यले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*