रोनाल्डोको जादुमा रियल मड्रिडको शानदार जित, पहिलो हाफमै पाँच गोल

ए वान डेस्क
२६ मंसिर २०७४, मंगलवार ०५:२६

क्रिष्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा रियल मड्रिडले स्पेनिस ला लिगामा शानदार जित दर्ता गरेको छ । पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोले दुई तथा नाचो, टोनी क्रस र अक्राफ हकिमीले एक एक गोल गर्दै ५–० को शानदार जित दिलाए । यो सिजन ला लिगामा यो खेल अघि दुई गोल मात्रै गरेका रोनाल्डोले ला लिगामा गोल संख्या सिजनमा चार पुर्‍याएका छन् । तेस्रो मिनेटमा नै नाचोको गोलबाट सुरुवाति अग्रता लिएको रियल मड्रिडले घरेलु मैदानमा शनिबार राति भएको खेलमा पहिलो हाफमा नै पाँच गोल गर्‍यो । रोनाल्डोले २३ र ३१ औं मिनेटमा गरी दुई गोल गरे ।
यस्तै क्रसले ३८ औं मिनेटमा तथा हाकिमीले ४२ औं मिनेटमा गोल गर्दै टिमलाई पहिलो हाफमा ५–० को अग्रता दिलाए । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र रियल मड्रिड ५–० ले विजयी भयो । गएको बिहीबार मात्रै पाँचौँ पटक बालोन डी’ओर अवार्ड जितेका रोनाल्डोले यो खेलअघि आफ्नो अवार्ड प्रस्तुत गरेका थिए । जितपछि तेस्रो स्थानमा उक्लिएको रियल मड्रिडको १५ खेलबाट ३१ अंक भएको छ । उ शीर्ष स्थानको बार्सिलोना भन्दा पाँच अंकले पछि रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*