विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम खेलमा पनि नेपाल पराजित

विश्व क्रिकेट लिग च्याम्पियनसिपको आफ्नो अन्तिम खेलमा नेपाल पराजित भएको छ । यसअघि नै डिभिजन २ मा घटुवा भएको नेपाल युएईसँग शुक्रबार भएको खेलमा ६३ रनले पराजित भएको हो ।
जितका लागि १ सय ९६ रनको सामान्य लक्ष्य पाए पनि नेपाली ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न नसक्दा नेपाल पराजित भयो । नेपालका ज्ञानेन्द्र मल्लले ४२ र विनोद भण्डारीले २५ रन बनाए । सागर पुन २१, आरिफ शेख १४ र शरद भेषवाकर १३ रनमा आउट भए ।
यसअघि पहिला ब्याटिङ गरेको युएईले ४९ दशमलव २ ओभरमा सबै १० विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । युएईलाई झिनो योगफलमा सिमित गर्ने क्रममा नेपालका सोमपाल कामीले उत्कृष्ट बलिङ गरेका थिए । उनले १० ओभरमा १ मेडन राख्दै ५ विकेट लिए । बुधबार भएको पहिलो खेलमा पनि नेपाल पराजित भएको थियो । नेपालसँगका दुवै खेल जितेको युएई पनि डिभिजन २ मा झरिसकेको छ ।