मोदीको गृहप्रदेश गुजरातमा भाजपालाई टक्कर दिँदै कांग्रेस

भारतमा विधान सभा निर्वाचनको मतगणना सुरु भएको छ । हिमाञ्चल प्रदेश र गुजरात राज्यको निर्वाचनको मतगणना सोमबार बिहानबाट सुरु भएको हो ।
राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा हिमाञ्चल प्रदेश र गुजरातमा निकै कडा सुरक्षा व्यवस्थाबीच मतगणना सुरु गरिएको हो ।
ताजा अवस्थामा गुजरात विधानसभामा भारतीय जनता पार्टीले अग्रता बनाउन सफल भएको छ । ताजा अवस्थामा भाजपाले ७० स्थान जितिसकेको छ । कुल १८२ सिटका लागि भएको मतदानमा भाजपा अहिले ३३ स्थानमा अगाडि छ ।
त्यसैगरी प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले ४६ स्थानमा जित निकालेको छ । उसले अहिलेसम्म २९ स्थानमा अग्रता बनाइरहेको छ ।
भारतका यी दुई प्रदेशको मतगणना सोमबार बिहानबाटै सुरु भएपछि नतिजा आउने क्रम पनि तीब्र भएको हो । गुजरात र हिमाञ्चल प्रदेशमा मतगणना गर्न सोमबार बिहानदेखि गणनास्थलमा कडा सुरक्षा व्यवस्था अपनाइएको छ ।
दुवै राज्यमा भारतीय जनता पार्टी (विजेपी) ले धेरै स्थानमा अग्रता लिइरहेको छ भने कांग्रेस पछिपछि छ । गुजरातको यस निर्वाचनलाई कांग्रेसले विजेपीलाई टक्कर दिएको रुपमा हेरिएको छ । गुराजत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेश हो ।
यहाँ कांग्रेसले दिएको टक्करलाई निकै महत्वाका साथ हेरिएको छ । यसअघिको संसदीय निर्वाचनमा देशभरिबाट बढारिएको कांग्रेसले मोदीको प्रदेशमा दिएको यो टक्करलाई महत्वाका साथ हेरिएको छ । गुजरातमा दिएको यो टक्कर कांग्रेसका लागि ठूलो उपलब्धि भएको विश्लेषकहरुको भनाई छ ।
हालैमात्र भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्षमा राहुल गान्धी निर्वाचित भएका छन् । उनले पार्टीको नेतृत्व सम्हालेपछिको यो पहिलो निर्वाचन हो ।
त्यसैले कतिपय विश्लेषकहरुले भारतमा कांग्रेसको पुनरागमनको सङ्केत हो पनि भनेका छन् । तर यता हिमाञ्चल प्रदेशमा भने कांग्रेसको साख घट्ने देखिएको छ । त्यहाँ विजेपीको ४४ र कांग्रेसको २० स्थानमा अग्रता देखिएको छ । यहाँ ६८ स्थानका लागि निर्वाचन भएको थियो ।
त्यसैले पनि अहिलेकै परिणामहरुले पछिसम्म स्थान पाउने हो भने यस परिणामलाई अनपेक्षित भनिएको छ । यसअघिको परिणामभन्दा कांग्रेसले धेरै स्थानमा विजय हासिल गर्ने देखिएको बताइएको छ ।
तर निर्वाचन भएपछिका सर्वेक्षणहरुले भने भारतीय जनता पार्टी नै सबैभन्दा ठूलो दलका रुपमा विजय हासिल गर्ने देखाएका थिए ।