‘सुपर ग्यास उद्योगमा आगलागीको कारण उद्योगकै असावधानी’

वीरगञ्ज महानगरपालिका- १८ पटेलनगरस्थित सुपर ग्यास उद्योग प्रालिमा बुधबार भएको भीषण आगलागी आवश्यक तथा अनिवार्य सावधानी नअपनाउँदा भएको प्रारम्भिक स्थलगत अवलोकनमा पाइएको छ।
वीरगञ्ज महानगरपालिका कार्यालयका बारुण यन्त्रका दुई अग्नि नियन्त्रकको जलेर घटनास्थलमै ज्यान गयो भने दुईजना गम्भीर घाइतेको काठमाडौंमा उपचार भइरहेको छ। पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रदीप यादवसहितको टोलीले बिहीबार क्षतिग्रस्त उद्योगको स्थलगत अवलोकन गरेको छ।
‘प्रथम दृष्टिमा हामीलाई लागेको के हो भने यो घटना असावधानीका कारण भएको रहेछ। उद्योगकै केही कमजोरी देखिन्छन्। तर, यसलाई प्रमाणिकरुपमा भन्न सक्ने विज्ञ हामी होइनौँ,’ यादवले भने, ‘यसबारे छानबिनका लागि विज्ञसहितको टोली चाँडै आउनुपर्छ।’
सोही क्षेत्रका प्रदेशसभा सदस्य जन्नत अन्सारी, जिल्ला समन्वय समितिका सभापति नेक महमदसहितको टोली बिहीबार बिहान उद्योगको स्थलगत अवलोकन गर्न पुगेको गियो। अवलोकनपछि नवनिर्वाचित सांसद यादवले पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहलाई भेटेर छानबिनका लागि सरकारी स्तरमा पहल गर्न आग्रह गरे।