जीतपुरसिमराले बल्ल पायो फोहोर फाल्ने ठाउ, यसरी गरिदैछ व्यवस्थापन

ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिकामा बिगत लामो समयदेखि जटिल समस्याको रुपमा रहेको फोहोर व्यवस्थापनलाई छिट्टै समाधान गरिने भएको छ । जीतपुरसिमरा उप–महानगरपालिकाको बिभिन्न स्थानमा रहेका फोहोर अब छिट्टै अस्थायी डम्पिङ साईडमा व्यवस्थापन गरिने भएको छ ।
अब छिट्टै अस्थायी रुपमै भएपनि प्रगतिशिल सामुदायीक बन उपभोक्ता समुहको जंगल छेउमा फोहोर व्यवस्थापन गर्ने तयारी भईरहेको वडा नम्बर ४ का वडा अध्यक्षसमेत रहनुभएका फोहोर व्यवस्थापन समितिका संयोजक ईश्वर केसीले जानकारी दिनुभयो । पुर्व पश्चित राजमार्गको दक्षिण र प्रगतिशिल बनको उत्तरपट्टि दुधौरा खोलामा फोहोर व्यवस्थापन गर्न लागिएको केसीले बताउनुभयो ।
ए वान समाचारसंग कुरागर्दे केसीले भन्नुभयो ‘त्यहा करिव ७ बिगाह क्षेत्रफलमा रहेको ठाउमा तत्काललाई अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्ने तयारी गरेका छौ, पछि हामी त्यही ठाउमा दिर्घकालिन रुपमा फोहोर व्यवस्थापन गर्नेछौ’ । फोहोर व्यवस्थापन गर्ने बारे मन्त्रालयमा पत्र काट्ने तयारी भईरहेकोभन्दै छिट्टै फोहोर व्यवस्थापनको दिर्घकालिन योजना बनाउने उहाले बताउनुभयो ।
फोहोरको बर्गिकरण
संयोजक केसीका अनुसार फोहोरको बर्गिकरण गरिनेछ । ‘हामी फोहोरको बर्गिकरण गरेर त्यसलाई मोहोरमा बदल्नेछौ, अब छिट्टै उपमहानगर फोहोर मुक्त हुनेछ’ उहाले भन्नुभयो । प्रत्यक वडामा डस्टबिन राख्ने तयारी भईरहेकोभन्दै छिट्टै यसको थालनी गरिने उहाले बताउनुभयो ।
कहा–कहा उठ्छ फोहोर ?
जीतपुरसिमरा उप–महानगरपालिकाले अहिले वडा नम्बर १, २ र ७ मा फोहोर उठाउने गरेको छ । ‘हामीले ट्याक्टर मार्फत अहिले बिशेष गरी ३ वटा वडामा फोहोर उठाईरहेका छौ, अहिले छिट्टै सबै वडामा फोहोर उठाउने छौ’ केसीले भन्नुभयो ।