बारा प्रहरीद्धारा ५० लाख बराबरको मालसमान बरामद

ए वान डेस्क /
बारा प्रहरीले ५० लाख बराबरको मालसमान बरामद गरेको छ । प्रहरीले जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर १ स्थित पथलैयाबाट ५० लाख बराबरको मालसमान बरामद गरेको हो ।
प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट नेपालगंजतर्फ जादै गरेको ना४ख ९१३९ नम्बरको ट्रकबाट कपडा, औषधी, ग्यास लाईटर लगायतका मालसमान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ गरिएको मालसमान राजश्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रिय कार्यालय पथलैयामा बुझाईएको प्रहरीले जनाएको छ ।
दुई सय बोरा मरिच बरामद
बारामा प्रहरीले दुई सय बोरा मरिच बरामद गरेको छ । प्रहरीले दुई वटा गाडी र चालकसहित नियन्त्रणमा लिइएको मरिच राजश्व कार्यालयलाई बुझाएको छ । मरिचको बजार मूल्य २६ लाख रुपैयाँ रहेको अनुमान गरिएको छ ।
पक्राउ पर्नेमा बाराको कोल्हबी नगरपालिका वडा नं।४ बस्ने कृष्ण खरेल र सागर राना भाट रहेका छन् । बाराको आदर्श कोतवाल गाँउपालिका-६ स्थित हुलाकी राजमार्ग सडकबाट ५० क्विन्टल मरिचसहित उनीहरुलाई पक्राउ गरिएको र आवश्यक कारबाहीका लागि बुधबार राजश्वकार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी भुवनेश्वर साहले जानकारी दिए ।
ना३च ७००० र ना४च २८१४ नम्बरको पिकप गाडीमा १००/१०० बोरा कालो मरिच भारततर्फ अवैध रुपमा लैजाँदै गर्दा उनीहरु पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय महेन्द्र आदर्श बाराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
३० लाख मूल्य बराबरको २ थान पिकप गाडी समेत आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैया बारामा पठाइएको बारा प्रहरीले जनाएको छ ।