पर्सा प्रहरीद्धारा जथाभावी सवारी चलाउने दुई सय अटो नियन्त्रणमा
अबिद अहमद /
सवारी चालक अनुमति पत्र विनै जथाभावि सवारी चलाउने दुई सय अटो रिक्सा प्रहरीले नियन्त्रणमा लिएको छ । तोकिएको क्षेत्रमा रोक्ने, यात्रु चढाउने र ओराल्नुपर्नेमा जथाभावि सवारी चलाउने दुई सय अटो रिक्सालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।
बजारमा जथाभावि सञ्चालन गर्ने अन्य अटो रिक्सा पनि नियन्त्रणमा लिने अभियान जारी राख्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुरेश कुमार साहले जानकारी दिनुभयो । बजारमा सञ्चालनमा रहेका अटो रिक्साका आवश्यक कागजपत्र समेत नरहेको र जथाभावि रोक्ने र चलाउने गरेकाले बाध्य भएर नियन्त्रणमा लिएर कारवाही गर्नुपरेको साहले बताउनुभयो ।
बजारमा अहिले झण्डै १ हजार भन्दा बढी अटो रिक्सा सञ्चालनमा छन् । जसमध्ये कमैले मात्र चालक अनुमति पत्र र रुट इजाजत पत्र लिएका छन् भने अधिकांशले कागजपत्र बिनै सञ्चालन गरिरहेका छन् ।