सहकारी सामाजिक रुपान्तरणको मेरुदण्ड हो : पौडेल

जीतपुरसिमरा उपमहानगरका नगर प्रमुख डा. कृष्ण पौडेलले समृद्ध उपमहानगरको अभियानमा सहकारी क्षेत्रको भूमिका अहम हुने बताएका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका १५ स्थित समाजसुधार कृषी सहकारी संस्थाको ५औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै नगर प्रमुख डा. पौडेलले आर्थिक, सामाजिक रुपान्तरणको मुख्य मेरुदण्डको रुपमा सहकारी क्षेत्र अघि बढ्दै गएको बताए । उनले सहकारी क्षेत्रलाई स्थानिय तहसंग समन्वय गरी काम गर्न सके कल्पना गरिएजस्तो समृद्ध उपमहानगर बनाउन सकिने डा. पौडेलको भनाई थियो ।
जीतपुरसिमरा उपमहानगर सहकारीको उर्वर भूमिको रुपमा रहेको भन्दै उनले सहकारी क्षेत्रले समृद्धिको अभियानमा साथ दिनुपर्ने बताए । सहकारी क्षेत्रलाई सुशासित, सदस्य केन्द्रीत र ब्यवसायिक बनाएर किसान तथा नगरबासीको जीवनस्तर रुपान्तरणमा भूमिका खेल्न सकिने डा. पौडेलको भनाई थियो । उपमहानगरलाई समृद्ध बनाउने अभियानमा सहकारी क्षेत्रसंगै सबैले सहकार्य गरेर अघि बढ्नुपर्ने नगर प्रमुख डा. पौडेलले बताए ।
कार्यक्रममा साना किसान कृषी सहकारी संघका केन्द्रीय सञ्चालक शिवप्रसाद अधिकारी, डिभिजन सहकारी कार्यलयका प्रमुख कुलोत्तम पोखरेल, दुग्ध उत्पादक कृषी सहकारी संघका निवर्तमान उपाध्यक्ष नारायण बर्तौला, हातेमालो बचत तथा ऋण सहकारीका सञ्चालक बरुण गौतम, डुमरवाना बहुमुखी क्याम्पसका उपप्रमुख किशोर शर्मालगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा संस्थाले उत्कृष्ट बचत कर्ता, कारोवारकर्ता, जेष्ठ सदस्य, उत्कृष्ट छात्रालाई सम्मान गरेको थियो । सोही अवसरमा संस्थाले प्रमुख डा. पौडेलसहित जनप्रतिनिधिलाई सम्मान गरेको थियो ।
कार्यक्रममा तीन जना सुत्केरी महिलालाई पोषणयुक्त सामाग्री हस्तान्तरण गर्नुका साथै बालबचत खाता सञ्चालन गरी सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष नारायणदत्त अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन ब्यवस्थापक रविन्द्रराज भण्डारीले गरेका थिए । तीन सय सदस्यका बिच सहकारीले एक करोड ३० लाखको कारोवार गरिरहेको छ ।