विद्यालय शिक्षा : सामुदायिक खुम्चिँदै, निजी फैलिँदै

भक्तपुर ताथलीको गणेश माविमा तीन वर्षअघि एक सय २० विद्यार्थी थिए। यो संख्या ०७३ मा एक सय ५ मा झर्यो यस वर्ष ८२ जनामा सीमित भएको छ । मुस्किलले ६५ जनामात्र विद्यालयमा नियमित हाजिर हुन्छन् ।
यो विद्यालयमा हरेक वर्ष विद्यार्थी घटिरहेका छन्। यही विद्यालयको पाँच सय मिटर नजिकै छ एसएस सदन नामक निजी विद्यालय। यहाँ भने हरेक वर्ष विद्यार्थी बढिरहेका छन्।
०७२ मा २ सय २३ विद्यार्थी रहेको यो विद्यालयमा ०७३ मा तीन सय पुगे। यो वर्ष ३ सय २५ छन् । विद्यार्थीको उपस्थिति पनि नियमित छ। विद्यार्थीको सिकाइमा अभिभावकको चासो पनि उत्तिकै छ ।
गणेश माविका विद्यार्थी र गाउँका बालबालिकाको रोजाइमा एसएस सदनसहित अन्य निजी विद्यालय पनि पर्न थाले। विद्यार्थी बढाउन गणेश माविका शिक्षकले अनेक उपाय अपनाए। विद्यार्थी पठाइदिन भन्दै घरदैलो गरे।
नियमित विद्यालय नआउने विद्यार्थीको घरमै पुगे। यतिसम्म कि, जुन बोर्डिङमा आफ्ना विद्यार्थी सरे, त्यही विद्यालयका शिक्षकहरू गीता खड्का र भावना देउजालाई निजी स्रोतमा तलब खुवाउने गरी ल्याए। विद्यालयको आम्दानी नभएकाले गणेश माविका सात जना स्थायी शिक्षकले आफूले खाइपाई आएको तलबबाट १ हजारदेखि २ हजारसम्म दिएर उनीहरूलाई दुई वर्षअघि ल्याएका हुन्। तैपनि विद्यार्थी बढेका छैनन् ।
गणेश माविकै जस्तो हालत काठमाडौंको वसन्तपुर नजिकै याट्खाको कन्या माविको पनि छ। शिक्षा विभागको तथ्यांकअनुसार यहाँ ४२ विद्यार्थी र २० जना शिक्षक छन्। यही विद्यालय सामुन्नेको निजी विद्यालय नेक्स्ट जेनेरेसनका १० कक्षाका विद्यार्थी भने अन्तिम परीक्षाको तयारी कक्षामा व्यस्त थिए।
कोर्स सकाएपछि तयारी कक्षा भइरहेको छ। दुवैमा माध्यमिक तह १० कक्षासम्म पढाइ हुन्छ। कन्यामा ४२ विद्यार्थी र २० शिक्षक छन् भने नेक्स्ट जेनेरेसनमा ३ सय ५० विद्यार्थी र १५ शिक्षक। शिक्षा विभागको तथ्यांकअनुसार यो विद्यालयमा हरेक वर्ष विद्यार्थी संख्या घटदो छ।