शीतलहर र चिसोले अाक्रान्त मध्य तराई

दुई साताभन्दा बढी समयदेखि राम्रोसँग घाम नलागेका कारण धनुषा, महोत्तरीसहित मध्य तराईका जिल्लामा अत्यधिक चिसो बढेको छ। अपाङ्ग, अशक्त, बालबालिका र जेष्ठ नागरिकहरू चिसोबाट बढी प्रभावित भएका छन्। त्यस्तै चिसोले सताएपछि श्रमिकहरू बाहिर काम गर्न जानै छाडेका छन्। चिसोबाट बच्न मानिसहरू ठाउँ ठाउँमा आगो तापेर बस्न थालेका छन्।
तराईका जिल्लामा न्यानो कपडा अभावमा बर्सेनि चिसोले कठ्यांग्रिएर गरिब तथा विपन्न समुदायका जेष्ठ नागरिकको मृत्यु हुने गरेको छ। तराईका गरिब र सीमान्तकृत समुदाय चिसोमा बढी प्रभावित हुने गरेका छन्। न्यानो कपडा नहुँदा र शीतलहरबाट जोगिने ज्ञान नहुँदा बर्सेनि सर्वसाधारणको ज्यान जाने गरेको जनकपुर अञ्चल अस्पतालका डा. रामपरीक्षण यादव बताउँछन्।
यो वर्ष पुसको पहिलो साताबाट नै मध्य तराईका जिल्लामा चिसो सुरु भएको छ। कुहिरो र शीतसँगै चल्ने चिसो पश्चिमी हावाका कारण स्थानीयको दैनन्दिन पनि सुस्त हुँदै गएको छ। बजार तथा कार्यालयहरूमा सर्वसाधारणको उपस्थिति दिउँसोमा मात्रै हुन थालेको छ। संधैजसो भिडभाड हुने सरकारी कार्यालयहरूमा चिसोले गर्दा सेवाग्रहीहरूको संख्यामा कमी आएको छ।
बिहानै खुल्ने व्यापारिक पसल र बजारहरू पनि ढिलो गरी खुलिरहेका छन्। सार्वजनिक स्थलमा जम्मा भएर आगो बालेर तापिरहेका छन्। खुल्ला स्थानमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, रिक्सा र ठेला चालकहरू चिसोका कारण बढी प्रभावित छन्। शीतलहर नेपालको चुरे पर्वतभन्दा दक्षिणको भागमा देखा पर्ने गरेको जनकपुर विमानस्थलस्थित जल तथा मौसम विभागका वरिष्ठ अधिकृत मोहन ठाकुरले बताए।
अस्पतालमा बिरामीको चाप बढ्दो चिसोका कारण स्वास्थ्य संस्थाहरूमा ‘कोल्ड डायरिया’, ज्वरो, रुघाखोकी र स्वासप्रश्वासका बिरामीको संख्या बढेको छ। जनकपुर अञ्चल अस्पतालमा खासगरी जिल्लाको ग्रामीण भेगबाट बालबालिका तथा वृद्धवृद्धाहरू बिरामी भई अस्पताल भर्ना भएको चिकित्सकहरूले बताएका छन्। अञ्चल अस्पतालमा चिसोका बिरामी ७५ प्रतिशतको हाराहारीमा छन्।
चिसोले दम, निमोनिया, कोल्ड डायरिया, घाँटी दुख्ने जस्ता समस्याले पीडित बढेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट रामपरिक्षण यादवले जनाएको छ। ‘इरमर्जेन्सीमा आउने बिमीमा ७५ प्रतिशत चिसोकै बिरामी छन्, यादवले भने, ‘ओपीडीमा पनि त्यस्तै अवस्था छ।’ उनले भने ‘बालबालिका र वृद्ध वृद्धाहरू चिसोले प्रभावित भएपछि उपचारका लागि आउँछन्।’
अस्पतालको एर्मजेन्सीमा औसत दैनिक १ सय जना र ओपीडीमा २ सय देखि अढाई सयको हाराहारीमा बिरामीहरू उपचारका लागि आइरहेको अस्पतालले जनाएको छ। त्यसैगरी जनकपुरमा रहेका अन्य निजी स्वास्थ्य संस्थामा चिसोका कारण हुने विभिन्न संक्रमणका बिरामी बढेका छन्। धनुषामा ८ सय ३० थान कम्बल वितरण जिल्ला विपद् व्यवस्थापन समिति धनुषाले न्यानो कपडा र खाद्यसामग्रीको व्यवस्था मिलाउने निर्णयअनुसार नेपाल रेडक्रस सोसाइटी धनुषाले जिल्ला उत्तरी क्षेत्र ढल्केवर, गोदार, भुइँचक्रपुर, नक्टाझिज, बफै र लालभितीमा गरी २ सय थान कम्बल वितरण गरेको जनाएको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईको अध्यक्षतामा १४ पुसमा बसेको विपद व्यवस्थापन समितिको बैठकले आ–आफ्ना क्षेत्र भित्र रहेका गरिब, निमुखा र असहायहरूको पहिचान गरि स्थानीय तहरूले न्यानो कपडा र तातो खाने कुराको व्यवस्था मिलाउने निर्णय गरेक थिए। सामुदायिक विकास संस्थाले ६ सय ३० थान कम्बल धनुषाको साविक गाविसहरू मुखियाट्टी मुसहरनिया, लक्कड, बल्हा सघारा र पुष्पबलपुर र सामूदायिक सुधार केन्द्रले सबैला, बसविट्टी, चोराकोयलपुर, प्रकोमहुवा, नौवाखोर प्रसाही, धनुषा गोविन्दपुर, कनकपट्टी, सिग्याही मडान र धनुषाधाममा वितरण गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईँले जानकारी दिए।