मेयरले बैना लिएर पनि जग्गा दिएनन्
बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह वादेलाई एक वर्ष अघि कागज गरेर बैना गरेको जग्गा नदिएको आरोप लागेको छ ।
२०७३ साल पुस २५ गते १५ दिन भित्र जग्गा पास गर्छु भनेर ७ लाख रुपैयाँ बैना लिएपनि अहिलेसम्म जग्गा पास नगरेको साविक ढुंखर्क गाविस ७ हाल बेथानचोक गाउँपालिकाका ठकनप्रसाद तिमल्सिना (दिनेश)ले बताउनुभयो । वादेले ४ आना १ पैसा जग्गा ३९ लाख ५० हजार रुपैयाँमा बेच्ने भनेर ७ लाख रुपैयाँ बैना लिनुभएको थियो ।
मेयर वादेले आफ्नी श्रीमतीको नाममा जग्गा भएपनि बैना रकमको कागजमा भने आफै रहेर हस्ताक्षर गर्नुभएको थियो । श्रोतका अनुसार १ वर्ष अघि मोलमोलाई गरेर बैना लिएपनि जग्गाको भाउ बढेपछि उहाँले अहिलेसम्म जग्गा पास गरिदिनुभएको छैन ।
ठकनप्रसाद भने आफ्नो नाममा जग्गा पनि नआएको र एक वर्ष अघि व्याजमा ऋण काटेर तिरेको बैना रकम पनि नआएको भन्दै न्यायको लागि विभिन्न ठाउँमा धाउन थाल्नुभएको छ । उहाँले पटक पटक मेयर वादेलाई जग्गा पास गर्न भनेपनि नमानेको गुनासो गर्नुभयो । ‘जग्गा पास कहिले गर्ने भनेर सोध्न गएको, म जग्गा दिन्न, जे गर्न सक्छस् गर् भनेर पठाए’ – ठकनप्रसादले भन्नुभयो – ‘ मैले पैसा आसामी लगाएको होर ?’
सात लाख ऋण खोजेर मेयर वादेलाई दिइसकेपछि थप पैसा आफ्नो अर्को जग्गा बैंकमा राखेर ऋण मिलाएको भन्दै उहाँले भन्नुभयो ‘थप पैसाको लागि पनि मैले बैंकमा ऋण मिलाइसकेको थिए, पैसा लिएर पास गर्न जाउँ भन्दा स्थानीय तहको चुनाव आउँदैछ त्यसपछि पास गर्दिन्छु भने तर त्यो चुनाव सकिएको पनि नौ महिना भैसक्यो अब त जग्गा नै दिन्न रे ।’
वादेले ठकनप्रसादको बैना रकम लिएको बेलाको तमसुकमा पनि दुवै तर्फको तीन पुस्ताको नाम राखेर ‘दुवै पक्ष जग्गा बेचविखन गर्न मञ्जुर गरी एकमुष्ट ३९ लाख ५० हजार रुपैयाँ मोल कायम गरी आजैका मितिमा बैना वापत अग्रिम रुपमा ७ लाख रुपैया बुझिलिई बाँकी रुपैया हाल साबिक (डिजिटल नापी) भएको १५ दिन भित्र उक्त जग्गा राजिनामा पारित गरी वा गराइदिनेछु’ वादे र ठकनप्रसादले हस्ताक्षर गर्नुभएको तमसुकमा उल्लेख छ ।
त्यस्तै ठकनप्रसादले आफ्नो जग्गा दिलाई दिन २०७४ माघ १२ गते नेकपा एमालेको कार्यालय काभ्रेमा पनि निवेदन दिनुभएको छ । उहाँले बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह वादेलाई विपक्षी बनाई एमाले काभ्रेमा न्यायको माग गर्दै निवेदन दिनुभएको हो । वादे बनेपा नगरपालिकाको मेयरमा एमालेबाट विजयी हुनुभएको थियो ।
ठकनप्रसादले निवेदनमा ’बनेपा नगरपालिकाका मेयर पद जस्तो गरिमामय पदमा नेकपा एमालेको तर्फबाट निर्वाचित लक्ष्मीनरसिंह वादे जस्ता पद धारण गर्ने व्यक्तिवाट आफू अन्यायमा परेको पार्टीको तर्फबाट विपक्षीसमेतलाई बोलाई सत्य तथ्य बुझि न्याय गरिदिनुहुन्छ भन्ने लागेकोले निवेदन पेश गरेको छु‘ निवेदनमा उल्लेख छ ।
यस विषयमा वादेले भने केही पनि बोल्न चाहनुभएको छैन ।























