समृद्धिका निम्ति सहकार्य आवश्यक : नगर प्रमुख पौडेल

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले जीतपुरसिमरा र कलैया उपमहानगरपालिकाको समृद्धिका निम्ति दुबै तहबिच सहकार्य आवश्यक रहेको बताएका छन् । कलैयास्थित धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको ९औं वार्षिक साधारण सभाको शनिवार उद्घाटन गर्दै नगर प्रमुख डा. पौडेलले बिकास र समृद्धिका लागि बाराका दुई उपमहानगरले एकअर्कासंग सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको बताए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक समेत रहेका नगर प्रमुख डा. पौडेलले जिल्लाका दुई उपमहानगरसंग जोडिएका अन्य स्थानिय तहलाई पनि समृद्धिको अभियानमा जोडेर अघि बढ्न सके नमुना जिल्ला हुने बताएका छन् । नगर प्रमुख डा. पौडेलले जिल्लाको १६ स्थानिय तहमध्ये उच्च तहको रुपमा रहेको जीतपुरसिमरा र कलैयाको बिकास र समृद्धि एकअर्कासंग जोडिएको बताए ।
कार्यक्रममा धनलक्ष्मी सहकारीका अध्यक्ष एवम् कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवले संस्थाको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्ने क्रममा नगर प्रमुख रायले वित्तिय कारोवारसंगै संस्थाले सामाजिक गतिविधिमा समेत आफूलाई अब्बल रुपमा स्थापित गर्न सकेको बताए ।
नगर प्रमुख यादवले जनचाहना अनुसार काम गर्न आफू तत्पर रहेको भन्दै समृद्धिका निम्ति सबैसंग सहकार्य गर्न तयार रहेको बताए । कार्यक्रममा बारा जिल्ला बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष सतेन्द्र ठाकुर, सहकारी अधिकृत कुलोत्तम पोखरेलले मन्तब्य राखेका थिए ।
संस्था अध्यक्ष एव्म नगर प्रमुख यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सञ्जय गुप्ताले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको सहजीकरण ब्यवस्थापक निभेष तिमिल्सीनाले गरेका थिए । संस्थाले सोही अवसरमा नगर प्रमुखद्धय डा. पौडेल, यादवसहित सञ्चालक समितिलाई सम्मान गरेको थियो ।