डिभिजन टू : ​नेपाल भर्सेस क्यानडा

ए वान डेस्क
१ फाल्गुन २०७४, मंगलवार १६:३९

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत नेपालले बुधबार लिगको शीर्ष स्थानमा रहेको क्यानडासँग खेल्दैछ ।

नामिबियाको विन्डहकस्थित वन्डरर्स क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा एक बजेबाट सुरु हुनेछ । जारी प्रतियोगितामा नेपाल र क्यानडाले समान तीन जित र एक हारको नतिजा आत्मसाथ गरेका छन् । समान ६ अंक भए पनि क्यानडा रनरेटको आधारमा अगाडि छ ।

नेपालले प्रतियोगितामा घरेलु टोली नामिबिया, युएई र केन्यालाई हराएको थियो भने ओमानसँग पराजित भएको थियो । नामिवियालाई १ विकेटले हराएको नेपाल दोस्रो खेलमा ओमानसँग ६ विकेटले हारेको थियो । त्यसयताका दुई खेलमा नेपालले युएईलाई ४ र केन्यालाई ३ विकेटले हराएको छ ।

यता क्यानडाले पहिलो खेलमा ओमानलाई ८ विकेटले हराउँदा दोस्रो खेलमा युएईलाई २३ रनले र तेस्रो खेलमा केन्यालाई ५९ रनले पराजित गरेको थियो । तर नामिबियाविरुद्ध भने क्यानडा १७ रनले पराजित हुन पुग्यो ।

बुधबारको खेलमा क्यानडालाई पराजित गरे नेपाल समूह विजेताका रुपमा फाइनलमा पुग्छ भने डिभिजन वानमा पनि उक्लनेछ । साथै मार्चमा जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोटमा पनि सहभागी हुन पाउनेछ । क्यानडासँग पराजित भएको अवस्थामा नेपालले अन्य खेलको नतिजामा भर पर्नुपर्ने हुन्छ ।

यदि नेपाल पराजित भएमा युएई र नामिबियाबीचको खेलको नतिजामा भर पर्नुपर्ने हुन्छ । घरेलु टोली नामिबियाले बाँकी दुई खेलमा केन्या र युएईलाई हराएमा नामिविया शीर्ष दुईमा पुग्नेछ । यता, युएईले नामिवियालाई हराएमा हेड टू हेडका साथै रन रेटको आँकडा लागू हुनेछ । तर नामिविया केन्यासँग मात्र पराजित भएमा पनि नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना बलियो हुनेछ ।

नेपाल र क्यानडा पछिल्लो चार वर्षमा दुई पटक आमनेसामने भएका छन । जसमा एक खेल नेपालले जितेको छ भने एक खेल क्यानडाको पक्षमा गएको छ । तर यी दुई टिम २०१५ पछि पहिलो पटक खेल्दैछन् ।

२०१४ मा न्युजिल्याण्डमा भएको विश्वकप छनोटमा नेपाल क्यानडासँग १२ रनले पराजित भएको थियो । तर २०१५ मा नामिवियामा नै भएको डिभिजन टूमा नेपालले क्यानडालाई ७ विकेटले पराजित गरेको थियो ।

सन्दीपको जादु निर्णायक
डिभिजन टू मा आफनो लेग स्पिनमार्फत विपक्षीलाई कायल पार्दै आएका सन्दीपमाथि क्यानड विरुद्धको खेलमा पनि सबैको ध्यान हुनेछ । जारी प्रतियोगितामा १४ विकेट लिनुका साथै एकै खेलमा पाँच विकेट लिदै लिस्ट ए मा सफल बलर बनेका सन्दिपले क्यानडा विरुद्ध कस्तो प्रदर्शन गर्छन त्यो सबैको चासो हो । भन्ने हो भने सन्दिपकै प्रदर्शनमा क्यानडाविरुद्धको नतिजा निर्भर हुनेछ ।

अहिलेसम्म सन्दिपले केन्या विरुद्ध ५ विकेट लिनुका साथै नामिविया विरुद्ध ४, युएई विरुद्ध ३ र ओमानविरुद्ध २ विकेट लिइसकेका छन् ।

ब्याटिङ मुख्य चुनौती
नेपाली टिमले प्रतियोगिताको पहिलो खेलदेखि नै ब्याटिङ राम्रो गर्न सकेको छैन । यो नेपालको परम्परागत समस्या हो । विशेष गरी नेपाली टिमको ओपनिङ जोडी जम्न सकेको छैन ।

तीन खेलमा दिलिप नाथ र ज्ञानेन्द्रको ओपनिङ जोडी जम्न नसेकपछि दिलिपको स्थानमा अनिललाई जिम्मा दिइएको थियो । तर उनले पनि राम्रो गर्नसकेनन । जसका कारण क्यानडा विरुद्धको खेलमा मुख्य चुनौती ब्याटिङमा हुनेछ ।

तर, केन्याविरुद्धको सोमबारको खेलपछि मध्यक्रमका ब्याट्सम्यानबाट पनि नेपाली टिमले अपेक्षा गर्न सक्छ । केन्याविरुद्ध १७८ रनको लक्ष्य पछ्याउने क्रममा अग्रपंक्ति ध्वस्त भए पनि आरिफ शेख र रोहित कुमार पौडेलले ८७ रनको संयमित साझेदारी गर्दै टिमको जितमा निर्णायक भूमिका खेलेका थिए ।

कप्तान पारसले पनि पछिल्ला २ खेलमा राम्रो प्रदर्शन गर्दै लयमा रहेको संकेत गरेका छन् । उनले युएईविरुद्धको खेलमा ५२ र केन्याविरुद्धको खेलमा ४२ रन बनाएका थिए ।
उज्यालो अनलाईनबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*