जीतपुरसिमरा : एउटै गाउबाट ८० प्रतिशत युवा नेपाल बाहिरिए

ए वान डेस्क
३ फाल्गुन २०७४, बिहीबार २०:२४

देशमा बढ्दो बेरोजगारीको कारण बाराको जितपुर सिमरा उपमहानगरपालिका–२४ हरपुर गाउँका ८० प्रतिशत युवा वैदेशिक रोजगारीमा गएका छन् ।

यादव र मुस्लिमको बसोबास रहेको हरपुरका युवा वैदेशिक रोजगारीको शिलशिलामा मलेशिया, कतार, दुवई, ओमान, साउदी अरबलगायत देशमा रोजगारीमा गएका छन् ।

सामान्य लेखपढ गरी कमाउँदै आएको रकमबाट घर खर्चसमेत चलाउन धौधौ परिरहेको बेला गाँउका युवा विस्तारै विदेशिने क्रम बढेको छ । यहाँको कमाइले छाक टार्न धौधौ पर्न थालेपछि युवा विदेशिने क्रम बढेको हो ।

दुई दशक पहिला बसोबास गर्नेकोे अवस्था निकै दयनीय थियो । गाउँमा स–साना कच्ची घरमात्र थिए । ‘पहिलापहिला गाउँमा एउटा÷दुईवटा पक्की घर थिए, अहिले गाउँमा पक्की नै पक्की घर देख्न पाइन्छ,’ स्थानीयवासी गीता थापाले भन्नुभयो ।

चार सय ७० घरधुरी रहेको हरपुरका युवा विदेशमा श्रमगरी पर्याप्त कमाइ गर्न थालेपछि गाउँको मुहारै फेरिन थालेको छ । गाउँको प्रत्येक घरमा एक जनादेखि पाँच जनासम्म विदेशमा गई श्रम गरिरहेका छन् ।

गाउँको ६०० भन्दा बढी युवा विदेशमा गई श्रम गरेपछि मासिक ५० लाख रुपैयाँभन्दा बढी रकम भित्रिने गरेको वडा नम्बर २४ का वडाध्यक्ष इलियास अन्सारीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*