को बन्ला नयाँ राष्ट्रपति ? यस्तो छ निर्वाचन प्रक्रिया

नयाँ प्रधानमन्त्री निर्वाचित भएसँगै मुलुकको ध्यान नयाँ राष्ट्रपति, उपराष्ट्रपति र सभामुखतर्फ गएको छ । निर्वाचन आयोगले फागुन २१ गते राष्ट्रपतिको निर्वाचन गर्न प्रस्ताव गरेपछि दलहरु छलफलमा जुटेका छन् ।
केन्द्र र प्रदेशका सांसदले राष्ट्रपति छान्ने छन् । विगतमा संसद सदस्यको बहुमतले राष्ट्रपति छान्ने संवैधानिक व्यबस्था थियो । केन्द्र र प्रदेशमा वामपन्थी गठबन्धनको बहुमत रहेका कारण वामपन्थी उम्मेदवार नै राष्ट्रपति बन्ने पक्का छ ।
नयाँ राष्ट्रपतिका लागि अहिलकै राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल, संविधानसभाका पूर्व अध्यक्ष सुवास नेम्वाङदेखि माओवादीका अमिक शेरचन सम्मको चर्चा छ ।
एमाले र माओवादी केन्द्रबीच शुरुमा राष्ट्रपति एमालेले लिने सहमति भएपनि पछिल्लो समयमा माओवादीले राष्ट्रपति पनि दाबी गरेको छ ।
राष्ट्रपति एमालेले नै पाउने सम्भावना छ । केही समय पहिले राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगको भेटवार्तामा आफू दोहोरिन चाहेको आशय व्यक्ति गरेकी थिइन् ।
पछिल्लो समय भण्डारी सक्रिय राजनीतिमा फर्किन चाहेको एमाले बृत्तमा चर्चा छ । पहिलो कार्यकाल विवामुक्त र कुशलतापूर्ण सम्पन्न गरेका कारण भण्डारी राष्ट्रपतिमा दोहोरिने प्रवल सम्भावना रहेको एमाले स्रोत बताउछ ।
भण्डारीले रुची नदेखाएमा खनाल राष्ट्रपति बन्ने प्रवल सम्भावना छ । खनाल स्वयमले पनि आफू राष्ट्रपति बन्न तयार रहेको बताएका छन् । एमालेले राष्ट्रपति पाएको खण्डमा नेम्वाङपनि अर्का आकाक्षी हुन् । उनकै नेतृत्वमा नयाँ संविधान जारी भएको थियो ।
भागवण्डामा माओवादीले राष्ट्रपति पाएको खण्डमा अमिक शेरचनले पाउने सम्भावना छ । प्रतिनिधि सभा र राष्ट्रिय सभामा उम्मेदवार नबनेका शेरचनलाई माओवादीले राष्ट्रपति या उपराष्ट्रपतिको आश्वासन दिएको बताइन्छ । विगतमा आफूले चुनाव जितेको क्षेत्रमा माओवादी अध्यक्ष प्रचण्डलाई चुनाव जिताउन शेरचन लागिपरेका थिए ।
एमालेले राष्ट्रपति पाएको खण्डमा शेरचन उपराष्ट्रपति बन्ने चर्चा पनि छ । नन्दबहादुर पुन नै उपराष्ट्रपतिमा दोहोरिने सम्भावना पनि उत्तिकै छ । एमालेसँग पार्टी एकतामा असहमति जनाएका गोपाल किरातीलाई पनि प्रचण्डले उपराष्ट्रपति बनाउने आश्वासन दिएका थिए । माओवादीले राष्ट्रपति पायो भने एमालेले उपराष्ट्रपति पाउने सम्भावना रहन्छ, त्यो बेला सांसद शान्ता चौधरीलाई अगाडि सार्ने सम्भावना छ ।
नेपाली कांग्रेसले पनि राष्ट्रपति र उपराष्ट्रपति पदमा सांकेतिक उम्मेदवारी दिने बताएको छ । कांग्रेसले यसअघि कुलबहादुर गुरुङलाई उठाएको थियो । यसपटक भने गुरुङले उम्मेदवार बन्न अस्वीकार गर्ने संकेत गरेका छन् । कांग्रेसले तराई मधेशको नागरिकलाई उम्मेदवार बनाउने सम्भावना छ ।
यस्तो छ निर्वाचन प्रणाली
संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचन सम्बन्धी व्यबस्था छ । निर्वाचन आयोगले फागुनको २१ गते राष्ट्रपति र चैत १ गते उपराष्ट्रपतिको चुनाव गर्न प्रस्ताव गरेको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धमा व्यबस्थ ागर्न बनेको ऐनको दफा ४ मा प्रतिनिधिसभा र प्रदेशसभा गठन भएको एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति चुनाव गराइसक्नुपर्ने व्यवस्था गरिएको छ ।
निर्वाचन आयोगले फागुन २ गते प्रतिनिसभाको चुनावको परिणाम राष्ट्रपति समक्ष बुझाइएकाले चैत २ गतेभित्र दुवै पदमा निर्वाचित गरिसक्नुपर्ने समय सीमा छ । राष्ट्रपतिको निर्वाचनका लागि उच्च अदालतको न्यायाधीशलाई निर्वाचन अधिकृत तोक्ने व्यबस्था ऐनमा गरिएको छ ।
राष्ट्रपति र उपराष्ट्रपति छनोटका लागि संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा)का ३ सय ३४ र प्रदेशसभाका ५ सय ५० सदस्यले मतदान गर्नेछन् । संघीय संसदमा सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ हुनेछ । राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंग वा समुदायको हुनुपर्ने संविधानको धारा ७० मा व्यवस्था गरिएको छ ।
लोकान्तरबाट