विष्फोटमा परि राज्यसभा निर्वाचनका उम्मेदवारसहित चारको मृत्यु

भारतको उत्तरपूर्वी राज्य मेघालयमा आइतबार राति भएको विष्फोटमा परि चुनावी अभियानमा रहेका एक जना राजनीतिज्ञसहित चार जनाको मृत्यु भएको भारतीय प्रहरीले सोमबार जनाएको छ ।
विष्फोटमा मेघालय राज्यसभाको निर्वाचनमा उम्मेदवार रहेका ४३ वर्षीय जोनाथन एन साङ्माको निधन भएको हो । उहाँ निर्वाचनकै सिलसिलामा ‘इस्ट गारो हिल्स’ जिल्लामा सम्वोधनका लागि जानुभएको थियो ।
मत्यु भएका अन्य दुई जना सामान्य नागरिक र एक प्रहरी रहेका बताइएको छ । उनीहरू साङ्माको निर्वाचन अभियानमा सहयोग गर्न उहाँकै कारमा यात्रा गरिरहेका थिए । उक्त क्षेत्र चीन, भुटान, म्यानमार र बङ्गलादेशको सिमानामा रहेको भूभाग हो ।
मेघालयमा ६० सदस्यीय राज्यसभाको लागि यही फेब्रुवरी २७ मा निर्वाचन हुने कार्यक्रम छ । मुख्यमन्त्री मुकुल साङ्माले घटना राजनीतिक प्रतिशोध लिन गराइएको हुनसक्ने बताउँदै यसबारे थप कुरा अनुसन्धानपछि मात्र बाहिर आउने बताउनुभयो ।
उहाँले मेघालयको शान्तिपूर्ण वातावरणलाई निर्दोष नागरिकको हत्याले नखल्वलाउने दावी गर्दै विष्फोटमा संलग्नलाई कानूनी दायरामा ल्याएर छोड्ने ट्वीटरमार्फत बताउनुभयो ।