बारामा फल्यो १ अर्ब ६३ करोड बराबरको आलु

बारामा यस वर्ष एक अर्ब ६२ करोड ७८ लाख ५७ हजार मूल्य बराबरको एक लाख १६ हजार २७५ मेट्रिक टन आलु उत्पादन भएको छ। मौसम अनकूल र बोटमा रोग नलागेपछि यस वर्ष आलु उत्पादनमा बृद्धि भएको कृषि विकास कार्यालय बाराका प्रमुख शिवरत्न साहले बताए।
उनका अनुसार यस वर्ष बाराका कृषकले कूल सात हजार ४७ हेक्टर क्षेत्रफलमा सी ४० र खुमलटार रातो जातको आलु लगाएका थिए। प्रतिहेक्टर १६ दशमलव ५ मेट्रिक टनका दर आलु उत्पादन भएको छ ।
जिल्लाको हरिहरपुर, गोलगंगा, अमृतजंज, देवापुर, भगवानपुर, विदुरवती, बरीयारपुर र मटिअर्वा आलुखेतीको पकेट क्षेत्र भए पनि जिल्लाको सबै क्षेत्रका कृषकले आलुखेती गर्ने गरिन्छ। यहाँ उत्पादित आलुमध्ये करिब ३० प्रतिशत जिल्लास्थित कोल्ड स्टोरमा भण्डारण गर्ने गरेको छ। बाँकी आलु जिल्लाभित्र खपत हुने र केही छिमेकी जिल्लामासमेत निर्यात हुने गरेको जिल्ला कृषि विकास कार्यालयका राजबेँसीप्रसाद चौधरीले जानकारी दिए।
आर्थिक वर्ष ०७३/७४ मा रु एक अर्ब ५८ करोड ५१ लाख २५ हजार मूल्य बराबरको आलु उत्पादन भएको थियो। गत वर्ष ७०/७५ हेक्टर क्षेत्रफलमा लगाइएको आलुखेतीबाट प्रतिहेक्टर १५ मेट्रिक टनका दर उत्पादन भई जिल्लामा कुल एक लाख पाँच हजार ६७५ मेट्रिक टन आलु उत्पादन भएको थियो। जिल्लामा उत्पादित आलु अहिले कलैया बजारमा प्रतिकेजी १५ देखि २० मा बिक्री भइरहेको छ।