प्राविधिक शिक्षालय आजको आवश्यकता : नगर प्रमुख डा. पौडेल
जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले प्राविधिक शिक्षालय निर्माणमा उपमहानगर गम्भिर रहेको बताएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित सखुवाघाटमा रहेको जनजागृति माध्यमिक विद्यालयमा निर्माण हुने बालिविज्ञान र पशुविज्ञान भवनको सिलन्यास गर्दै नगर प्रमुख डा. पौडेलले उपमहानगरको शैक्षिक सुधार गर्दै प्राविधिक शिक्षा भित्राउन अग्रसर रहने बताए ।
कार्यक्रममा नगर प्रमुख डा. पौडेलले समृद्धिको मुख्य आधारको रुपमा रहेको शिक्षा क्षेत्रको बिकासका लागि उपमहानगर योजनाबद्ध ढंगबाट अघि बढिरहेको समेत बताएका छन् । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी लालबाबु प्रसाद साह, वडा अध्यक्ष केदारनाथ बजगाई, डुमरवाना बहुमुखी क्याम्पसका प्रमुख राधेश्याम सिवाकोटी, बारा एकेडेमीका संस्थापक हरिदेव खरेल, जीतपुरसिमरा उपमहानगरपालिकाकी न्यायीक समितिका सदस्य तुलसा मैनालीलगायतले मन्तब्य राखेका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पुष्कल थापको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक कुमारप्रसाद तिमिल्सिनाले गरेका थिए । कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक अनिल मैनालीले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यालयले जनप्रतिनिधिसहित विद्यालयका पूर्व तथा वर्तमान शिक्षकलाई सम्मान गरेको थियो ।















