अधिक मदिरा सेवन गर्नेहरुमा बिर्सने समस्या ‘डिमेन्सिया’ बढ्दो, यी हुन् लक्षण

नेपालमा पछिल्लो समय डिमेन्सिया अर्थात् बिर्सनेरोगको समस्या बढ्दो मात्रामा देखिएको छ ।
कुनै समयमा उमेरजन्य समस्याकारुपमा हेरिने यो रोग पछिल्लो समयमा युवाहरुमा पनि उत्तिकै देखिन थालेपछि भएको अध्ययनमा अल्कोहलको अधिक सेवन नै यसको कारण रहेको पाइएको छ ।
एक हप्तामा ३०० एमएलभन्दा बढी अल्कोहल सेवन गर्नुहुन्छ भने विचार पुर्याउनुहोस्, तपाइँलाई डिमेन्सिया अर्थात् बिर्सने समस्याले पिरोल्न सक्दछ ।
हालै फ्रान्समा गरिएको अध्ययनले १० लाख मानिस यो रोगबाट ग्रसित भएको र यसमा पनि ६५ वर्षभन्दा कम उमेरका व्यक्तिहरु नै ठूलो संख्यामा रहेको औंल्याइएको छ ।
धुमपान गर्ने र अधिक मदिरा सेवन गर्ने व्यक्तिमा डिमेन्सियाको समस्या देखिएको अध्ययनले देखाएको हो ।
अत्याधिक मात्रामा मदिरा सेवनले मानिसको ‘ब्रेन’को ‘टिस्यु’ बिग्रँदै गइ बिर्सने समस्या देखिन थाल्ने अध्ययनले देखाएको छ ।
डिमेन्सिया भयो भने सम्झनसक्ने क्षमता कमजोर हुँदै जाने, विस्तारै सोच्नसक्ने क्षमता कमजोर हुने, बोल्नलाई शब्द नआउने भएकाले धेरैबेर सोच्नुपर्ने साथै व्यवहार परिवर्तन हुँदै जाने लक्षणहरु देखिन थाल्दछ ।
मदिराको सेवनले ब्रेनमा अक्सिजन, भिटामिन नपुग्ने र बिस्तारै ब्रेन बिग्रँदै जाने समस्या देखिने चिकित्सकहरु बताउँछन् ।
डिमेन्सिया एउटा अवस्था हो । डिमेन्सियाका कारण अल्जाइमर र भास्कुलर डिमेन्सियाकोसमेत समस्या देखिने चिकित्सकहरु बताउँछन् ।
उमेर बढ्दै जाँदा पनि मानिसमा डिमेन्सियाको समस्या देखिन थाल्छ । प्रायः यो समस्या ६० देखि ६५ वर्ष नाघेपछि देखिन्छ । यद्यपि, पछिल्लो समयमा कम उमेरमै यस्तो समस्या देखिएपछि चिकित्सकहरु पनि आश्चर्यमा परेका छन् ।
चिकित्सकहरुले सबै बिर्सने समस्या डिमेन्सिया भने नभएको स्पस्ट गरेका छन् । कामको धेरै चाप भएको बेलामा बिर्सने, धेरै सोच्ने बानीले, चिन्ता र डिप्रेसनका कारण पनि बिर्सने समस्या देखिनसक्छ, जुन डिमेन्सिया होइन ।
डिमेसिन्या भइसकेपछि त्यसलाई पूर्णरुपमा सन्चो बनाउन सकिँदैन । तर, डिमेन्सियाको लक्षण देखापर्नासाथ चिकित्सकको सम्पर्कमा आउने र मदिरा सेवन गर्न छाड्ने हो भने यो समस्या बढ्न भने पाउँदैन ।
नेपालमा कति डिमेन्सियाका बिरामी छन् भने एकीन तथ्यांक छैन । तर, पछिल्लो समय मद्यपानको सेवनका कारण यो समस्या लिएर आउने युवाहरुको संख्या भने बढेको चिकित्सकहरु बताउँछन् ।
ईमेज खबरबाट