जिसिसीको नयाँ नियमले नेपालीलाई खाडीका ३ देश जान समस्या

गल्फ कोअपरेशन काउन्सिल (जिसिसी) ले साउदी, ओमान र बहराइन जाने कामदारको स्वास्थ्य परीक्षणका लागि अनलाइनबाट फारम भर्नुपर्ने नियम ल्याएपछि यी देश जाने कामदारको स्वास्थ्य परीक्षण गर्न समस्या भएको छ ।
स्वास्थ्य परीक्षणमा समस्या आएपछि ती देशमा रोजगारीका लागि कामदारको श्रमस्वीकृति पनि प्रभावित भएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष तथा म्यानपावर व्यवसायी बलबहादुर तामाङले जिसिसीले यो नियम लागु गरेदेखि स्वास्थ्य परीक्षण अवरुद्ध भएको बताउनुभयो ।
नेपाल राष्ट्र बैंकको प्रावधानका कारण समस्या भएको व्यवसायीहरुले बताउँदै आएका छन् । साउदी, ओमान र बहराइन जान चाहनेले १० अमेरिकी डलर क्रेडिट कार्ड मार्फत शुल्क तिर्नु पर्छ ।
‘नेपाली श्रमिकले यो व्यवस्था अनुसार प्रक्रिया अगाडि बढाउन सक्दैनन् भनेर समन्वय गर्नु पर्यो, कि त १० डलर तिर्ने सरकारले नै राष्ट्र बैंकबाट अनुमति लिने प्रक्रिया अगाडि बढाउन प¥यो, नत्र कामदारको स्वास्थ्य परीक्षण गर्न सम्भव छैन,’ तामाङले भन्नुभयो ।
गाम्का बन्द भैसक्यो, अब म्यानपावरले नै स्वास्थ्य परीक्षणको प्रक्रिया गर्छन्
गल्फ एप्रुभ्ड मेडिकल सेन्टर्स एसोसिएसन (गाम्का)का प्रवक्ता अब्दुल सतारले जिसिसीले अनलाइनबाट आवेदन भर्नुपर्ने नियम लागु गरेपछि मेडिकल संस्थाहरुका छाता संगठन, गाम्का नेपाल स्वतः खारेज भएको जानकारी दिनुभयो ।
यसअघि यी देश जाने कामदारको मेडिकल गाम्काले गराउँदै आएको थियो । म्यानपावरले गाम्का खारेज भएपनि गाम्कामै आवद्ध भएका १२ वटा स्वास्थ्य संस्थामा कामदारलाई मेडिकलका लागि सिफारिस गर्नुपर्ने उहाँले बताउनुभयो ।
श्रम स्वीकृती रोकिएको छैन : विभाग
स्वास्थ्य परीक्षण अवरुद्ध भएपनि यसबारे औपचारिक रुपमा केही जानकारी नभएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी मोहन अधिकारीले बताउनुभयो । ‘हामी गाम्काबारे जान्दैनौं, किन र केका लागि बन्द भयो जानकारी छैन, तर प्रक्रिया पूरा गरेर आएकालाई श्रम स्वीकृती भने दिइरहेका छौं,’ उहाँले भन्नुभयो ।
स्वास्थ्य परीक्षण आवेदन अब अनलाइनबाट मात्रै : जिसिसी
गल्फ कोअपरेशन काउन्सिल (जिसिसी)ले साउदी, बहराइन र ओमान जाने कामदारले फागुन १७ गतेदेखि अनलाइनबाट स्वास्थ्य परीक्षणका लागि समय र सिट सुरक्षित गर्ने व्यवस्था लागू गरेको हो ।
जिसिसीका अनुसार नेपालसहित श्रीलंका, इंडोनेशिया र इजिप्टमा रहेको गाम्का कार्यालयलाई खारेज गर्दै अनलाइनबाटै सवस्थ्य परिक्षणका लागि अनलाइनबाट आवेदन दिनुपर्ने नियम ल्याएको हो ।
जिसिसीको नयाँ नियम अनुसार यी देश जान चाहनेले अनलाइनबाटै समय र सिट सुरक्षित गर्नुपर्छ । स्वास्थ्य परीक्षणका लागि अनलाइनको ‘बुक योर एपोन्टमेन्ट’ मेनुमा विवरण भरेर जिसिसी स्लिप जेनरेट गर्नुपर्छ । र अनलाइनबाटै स्वास्थ्य परिक्षणका लागि १० अमेरिकी डलर शुल्क तिर्नुपर्छ ।
संघका पूर्व अध्यक्ष तथा म्यानपावर व्यवसायी तामाङले राष्ट्र बैंकको अनुमती बिना डलर विदेश पठाउन नमिल्ने भएकाले जिसिसीले यो नियम लागु गरेपछि स्वास्थ्य परिक्षण अवरुद्ध भएको जानकारी दिनुभयो ।
यी मेडिकलमा संस्थामा साउदी बहराइन र ओमान जान चाहाने कामदारले यसअघि मेडिकल गराउँदा ५२ सय ५० रुपैयाँ तिर्न पथ्र्यो । यो रकममा यसअघि गाम्काले पनि १० अमेरिकी डलर बढाउन खोजेको थियो ।
यस वापतको रकम विदेशी खातामा जाने भन्दै राष्ट्र बैंकले रोकेको थियो । तर गाम्कालाई खारेज गर्दै जिसिसीले प्रक्रिया अघि बढाएको हो । तर जिसिसीले यो नियम ल्याउदा अनलाइनबाट स्वाथ्य परीक्षण गराउन १० डलर शुल्क तिर्न नेपाल राष्ट्र बैंकबाट अनुमति लिनु पर्ने हुँदा यी देश जान चाहनेलाई समस्या हुने भएको छ ।
उज्यालो अनलाईनबाट