अन्तर्राष्ट्रिय उपभोक्ता दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस मनाइँदैछ ।
सन् १९६२ मा मार्च १५ का दिन अमेरिकी राष्ट्रपतिले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरेपछि विश्वमा यो दिवस मनाउन थालिएको हो । नेपालमा भने उपभोक्ता संरक्षण ऐन २०५४ जारी भएपछि दिवस मनाउन थालिएको हो । यो ऐनको दफा ६ मा वस्तु वा सेवा खरिद तथा उपभोग गर्ने हरेक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको छ । तर बजार अनुगमन प्रभावकारी हुन सकेको छैन ।
उपभोक्ता अधिकारका नाममा २ दर्जनभन्दा धेरै संस्था खुलेपनि उनीहरुको भूमिका प्रभावकारी देख्न पाइएको छैन । समयसापेक्ष ऐन कानून, जनशक्ति र स्रोतसाधनको अभावमा बजार अनुगमन भने प्रभावकारी हुन नसकेको सरकारी निकायले दावी गर्ने गरेका छन । सरकारी तवरबाट गरिने बजार अनुगमन नियमित हुन नसक्दा बेचिन राख्ने वस्तु कम गुणस्तरयुक्त, कम तौल र महंगो मूल्यका हुने गरेका छन् ।
समग्र बजार उद्योगी तथा व्यापारीको नियन्त्रणमा छ । बजारको मागअनुसार मूल्य निर्धारण हुनुपर्नेमा व्यवसायीको आलोपालो प्रथा र मनोमानीका भरमा मूल्य र गुणस्तर निर्धारण हुने गरेको उपभोक्ताको गुनासो छ । भन्सारमा हुने न्यून बिजकीकरणको नाउँमा व्यवसायी उम्कने र उपभोक्ता ठगिने गरेका छन् । बजार अनुगमन भइरहे पनि उपभोक्ताको मागअनुसारको काम हुन नसकेको उपभोक्ता अधिकारकर्मीको भनाई छ ।
उपभोक्ता संरक्षण ऐन २०५४ मा उत्पादन घटाउने, माग र आपूर्ति एवं मूल्यमा प्रतिकूल प्रभाव पार्ने अपराध गरिए तीन वर्ष कैद वा ५० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । यस्तै खाद्य ऐन २०२३ मा न्यून गुणस्तर भएमा भने एक हजारदेखि दुई हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ ।
उज्यालो अनलाईनबाट