सिमरा महोत्सवको तयारी लगभग पुरा, पर्यटन मन्त्रीले उद्घाटन गर्ने
ए वान डेस्क /
यही चैत्र ९ गतेदेखि बाराको सिमरामा हुन लागेको प्रथम सिमरा औद्योगिक व्यापार, कृषि मेला तथा खेलकुद महोत्सव २०७४ को तयारी लगभग पुरा भएको आयोजकले जनाएको छ । आयोजक नव दुर्गा युवा क्लब सिमराले दिएको जानकारी अनुसार मेलाको ९० प्रतिशत भन्दा बढि तयारी पुरा भईसकेको छ ।
मेलाको पर्यटन मन्त्री रविन्द्र अधिकारीले उद्घाटन गर्नुहुने भएको छ । औद्योगिक शान्ति नेपाल काठमाण्डौ र नव दुर्गा युवा क्लब सिमराको मुख्य आयोजनामा चैत्र ९ गतेदेखि सिमरा रंगशालामा महोत्सव हुन लागेको हो । महोत्सवको सह–आयोजकको रुपमा भेट्रान्स क्लब सिमरा, नेपाल पर्यटन बोर्ड, प्रधानमन्त्री आधुनिकीकरण परियोजना काठमाण्डौ, जीतपुरसिमरा उप–महानगरपालिका लगायत रहेका छन् ।
यस्तै महोत्सवमा गोर्खा ब्रुअरीको उत्पादन टुर्वोग बियर मुख्य प्रायोजकको रुपमा रहेको छ भने क्याल गु्रप विरगञ्ज, जगदम्बा स्टिल प्रा.लि, हामा आईरन स्टिल प्रा.लि, सुर्य नेपाल प्रा.लि, तराई यातायात व्यवसायी संघ सिमरा लगायत सह–आयोजकको रुपमा रहेका छन् । महोत्सवको ईभेन्ट पार्टनरको रुपमा हाम्रो समन क्याम्प हेटौडा र अफिसिएल मिडिया पार्टनरको रुपमा ए वान समाचार डटकम रहेको छ ।
‘हाम्रो तयारी लगभग पुरा भईसक्यो भन्दा हुन्छ, हामीले सबै काम सकाएका छौ, अब मात्र पत्रकार सम्मेलन गरेर जानकारी गराउन बाकी छ’ आयोजक मुल समारोह समितिका सचिव शैलेस राज अर्यालले भन्नुभयो । ‘आपसी सद्भावको पहिचान सिमरालाई नमुना एवं व्यापारिक केन्द्र बनाउने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ सिमरा रंगशालामा महोत्सव हुन लागेको हो ।
महोत्सवमा झन्डै ४०० स्टल रहनेछन् । महोत्सवमा करिव २ करोड बराबरको करोवार हुने आयोजकको अनुमान छ । ‘मेला ५० हजार भन्दा बढि दर्शकले हेर्ने हामीले अनुमान गरेका छौ, अब हेरौ के हुन्छ’ सचिव अर्यालले भन्नुभयो । महोत्सव सिसि टिभिको निगरानीमा हुने अर्यालले भन्नुभयो ।
मेलामा अटोमोबाईल प्रदर्शनी, कृषि तथा हस्तकालको प्रदर्शनी, ४ दर्जन भन्दा बढि कलाकारहरुद्धारा गायनको बेजोड प्रस्तुती, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, बिभिन्न ब्रान्डका मोबाईल तथा ईलोक्टोनिक्स सामानको प्रदर्शनी, वाल उद्यान, लत्ता कपडा तथा भाडाकुडाको प्रदर्शनी, नृत्य प्रतियोगिता, सास्कृतीक प्रदर्शनी, व्यापार तथा पर्यटकीय प्रदर्शनी, सिमरा आईडल, डान्स प्रतियोगिता, निशुल्क स्वास्थ्य शिविर, भेट्रान्स फुटबल प्रतियोगिता, एक दिने मैत्रिपुर्ण महिला फुटबल प्रतियोगिता, कुस्ती प्रतियोगिता, साथमा चर्चित लोक गायक/गायिकाहरुद्धारा दोहोरी गित प्रस्तुतका साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने सचिव अर्यालले जानकारी दिनुभयो ।















