एन्फाको चुनाव स्थगित

ए वान डेस्क
११ चैत्र २०७४, आईतवार २०:१६

अखिल नेपाल फुटबल संघको बुधबारका लागि तय भएको चुनाव स्थगित भएको छ।

निर्वाचन समितिले चुनावको २ दिन अगाडि आइतबार सूचना टाँगेर एन्फाको चुनाव स्थगित भएको जनाएको छ। बिहीबार ललितपुर उच्च अदालतले एन्फा चुनाव तत्कालका लागि रोक्न दिएको आदेशको सम्मान गर्दै अर्को सूचना नभएसम्मका लागि चुनाव स्थगित भएको हो ।

भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दायर गरेको रिटमा चैत १४ लाई तय भएको एन्फाको निर्वाचन तत्काल रोक्न उच्च अदालतका न्यायाधीश राजकुमार वनको इजलासले आदेश दिएका थिए ।

आफूहरुको चुनावमा सहभागी हुने अधिकार छिन्न खोजेको भन्दै हालेको रिटमा न्यायाधीश वनको इजलासले अन्तरिम आदेश दिएको थियो । अहिलेको गतिरोध अन्त्यका लागि एसियाली फुटबल महासंघ एएफसीका प्रतिनिधि मंगलबार नेपाल आउँदैछन । अदालतले चुनाव रोक्न भनेपछि अन्तर्राष्ट्रिय फुटबल महासंघले तोकिएको मितिमा चुनाव नगरे एन्फालाई नै गार्हो हुने भन्दै पत्र पठाएको छ।

एन्फा चुनाव वरिष्ठ उपाध्यक्ष मणी कुँवर र पूर्व उपाध्यक्ष कर्माछिरिङ शेर्पा पक्षबीच प्रतिस्पर्धा हुँदैछ। कुँवरलाई एन्फा अध्यक्ष नरेन्द्रलाल श्रेष्ठ र पूर्व अध्यक्ष गणेश थापाको समर्थन छ। शेर्पाको पक्षमा ३ उपाध्यक्षसहित पूर्व सीईओ इन्द्रमान तुलाधरलगायतको साथ छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*