भर्नाकै दिन विद्यार्थीले किताब पाउने

ए वान डेस्क
१६ चैत्र २०७४, शुक्रबार १०:२०

शिक्षा विभागले १० वर्षपछि पहिलोपटक भर्ना गरेकै दिन विद्यार्थीहरूको हातहातमा पाठ्यपुस्तक पुर्‍याउने दाबी गरेको छ ।

आगामी शैक्षिक सत्रका लागि ७७ वटै जिल्लाका सामुदायिक विद्यालयमा आवश्यक पाठ्यपुस्तक ९० प्रतिशतभन्दा बढी छपाइ सकिएको विभागका शैक्षिक सामग्री महाशाखाका प्रमुख देवीराम अर्यालले बताएका हुन् भन्दै कान्तिपुर दैनिकले समाचार लेखेको छ। विद्यार्थी भर्ना तथा पाठ्यपुस्तकबारे जानकारी दिन मुद्रक र वितरकको समेत उपस्थितिमा विभागले बिहीबार पत्रकार सम्मेलन गरेको थियो ।

‘विगतका वर्ष बेलैमा पुस्तक छाप्न नसक्दा विद्यार्थीले पाउँदैनथे, यसपालि समयमै छापेर वितरण केन्द्रहरूमा पठाउन थालेका छौं,’ उनले भने, ‘वितरणमा समस्या नभए भर्ना गरेकै दिन विद्यार्थीका हातमा नयाँ पुस्तक हुन्छ ।’ स्थानीय तहबाट पाठ्यपुस्तकबापतको बजेट लिएर पुस्तक खरिद गर्न उनले विद्यालयहरूलाई निर्देशन दिए । जिल्ला शिक्षा कार्यालयहरूको साटो विभागले पहिलोचोटि कक्षा १ देखि १० को पुस्तक किन्ने रकम ७ सय ५३ वटै स्थानीय तहको खातामा पठाएको हो ।

५५ लाख ३० हजार ५ सय ३१ विद्यार्थीलाई नि:शुल्क पाठ्यपुस्तक वितरण गर्न २ अर्ब २२ करोड २२ लाख २२ हजार रुपैयाँ स्थानीय तहका खातामा पठाइएको हो । यो वर्षबाट ४ र ५ कक्षाका विद्यार्थीले पनि रंगीन पाठ्यपुस्तक पढ्न पाउनेछन् । यसअघि १ देखि ३ कक्षामा मात्रै रंगीन पुस्तक थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*