सिमरा महोत्सवमा दर्शकको घुईचो, १५ हजार भन्दा बढिले हेरे महोत्सव

ए वान डेस्क /
बाराको सिमरामा जारी प्रथम सिमरा औद्योगिक व्यापार, कृषि मेला तथा खेलकुद महोत्सव २०७४ मा आज एकैदिन १५ हजार भन्दा बढि दर्शकले महोत्सव हेरेका छन् । आयोजक मुल समारोह समितिले दिएको जानकारी अनुसार महोत्सवको ९औ दिन आज १५ हजार भन्दा बढि दर्शकले महोत्सव हेरेका हुन् ।
महोत्सव हेर्न बारा, पर्सा, मकवानपुरका साथै रौतहटबाट समेत दर्शक सिमरा आएका थिए । ‘आज सिमरा महोत्सवमा दर्शकको घुईचो नै लागेको थियो, महोत्सव हेर्न टाढा टाढाबाट दर्शक आएका थिए’ कलाकार व्यवस्थापक बिजय बोम्जनले भन्नुभयो । सिमरा रंगशालामा आयोजित महोत्सवमा आज नेपालका चर्चित गायक शिव परियार, गायक कमल खत्रीको बेजोड प्रस्तुतीले सिमराको माहोल नै तातिएको थियो ।
९ दिन सम्म आईपुग्दा महोत्सव सफल रुपमा चलिरहेको आयोजक मुल समारोह समितिका सह–संयोजक आरिफ हुसेनले जानकारी दिनुभयो । ‘महोत्सव हामिले सोच भन्दापनि राम्रो भयो, सबैको साथ र सहयोगले मेला सफल हुनेमा हामी बिश्वस्त छौ’ हुसेनले भन्नुभयो ।
महोत्सवमा आज गायिका टिका प्रसाई, हास्य कलाकार दिनेश काफ्ले, गायक लेखराज गुरुङ्ग, गायिका श्रीया नेपाल गायक विश्व आर के र डान्सर रुबिना श्रेष्ठले आफ्नो प्रस्तुती देखाउनु भएको थियो ।