‘जितपुरसिमरामा सहकारी ऐन ल्याउने तयारी’
जितपुरसिमरा उपमहानगरपालीकाले सहकारी ऐन ल्याउने तयारी गरेको छ । ६१औँ सहकारी दिवसको अवसरमा नगर स्तरीय सहकारी संजालले वडा नम्बर २ स्थित सिमरामा आयोजना गरेको कार्यक्रममा बोल्दै जीतपुरसिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले नगर कार्यपालिकाले सहकारी ऐन निर्माणको तयारी थालेको बताउनुभयो ।
उहाले नगरलाई आर्थिक समृद्धीको अभियानसंग जोडेर अगाडी बढ्न आवस्यक रहेको बताउनुभयो । सहकारीको सामाजिक उत्तरदायित्व बिषयमा बिद्यावारिधि समेत पुरा गरेका पौडेलले स्वरोजगार अभियानमा सहकारीसंगको हातेमालो अपरिहार्य रहेको भन्दै अब छिट्टै नगर सहकारी ऐन निर्माण गरी सामाजिक रुपान्तरणका लागी नगरमा रहेका एक सय सहकारीहरुलाई बिकासको साझेदार बनाउने बताउनुभयो ।
सहकारी क्षेत्रको प्रवर्धन, नियमन र ब्यवास्थापनका निम्ति सहकारी ऐन र नियमावली ल्याई नगरको समृद्धी र सहकारी अभियानलाई संगसंगै अगाढी बढाउने बताउँदै उनले नगरमा शिक्षा, स्वास्थ्य लगाएतका अन्य ऐन र नियमावलीको समेत तयारी सुरु गरिएको बताउनुभयो ।
संजालले आयोजना गरेको कार्यक्रममा नगरक्षेत्रका करिब १ सय सहकारीहरुका प्रतिनिधिहरुले नगरमा रयाली र कोणसभाको आयोजना गरी सहकारी दिवस मनाएका छन् ।















