क्यान्सरको उपचार कति महंगो ? जोगिन के गर्ने ?

ए वान डेस्क
२१ चैत्र २०७४, बुधबार १४:०९

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी धर्मपत्नी यशोदाको क्यान्सरको कारण निधन भयो । साहित्यकार जगदिश घिमिरेले मदनकृष्णलाई भन्नुभएको थियो, ‘क्यान्सर उपचारमा लाग्ने पैसाबारे कुरा गर्यो भने धाक लगाएको जस्तो हुन्छ ।’ क्यान्सरको उपचार कति महंगो छ भन्ने अर्थमा उहाँले यसो भन्नुभएको थियो ।

नेपालमा नै क्यान्सरको राम्रो उपचार नहुने हुनाले विदेशमा गएर क्यान्सरको उपचार गराउने सिलसिलामा यो कुरा आएको थियो । तर अहिले नेपालमा नै क्यान्सरको उपचार हुन थालिसकेको छ । केही वर्ष अघिसम्म नेपालमा किमोथेरापी हुँदैनथ्यो । त्यसैले भारतलगायत अन्य देशमा उपचारका लागि जानुपर्थ्याे ।

सामान्यतया क्यान्सर भइसकेपछि क्यान्सरको प्रकृति हेरेर सामान्य उपचारका लागि ५ देखि १० लाख रुपैयाँसम्म उपचार खर्च लाग्ने गर्छ । विदेशमा उपचार गराउन लैजाँदा यो रकम झण्डै दोब्बर हुन जान्छ । नेपालमा विपन्न समुदायका लागि क्यान्सर रोगको उपचार जटिल छ ।

तर अहिले नेपालमा नै क्यान्सर उपचार हुन थालेपछि कम खर्चमा नै यसको उपचार भइरहेको छ । भक्तपुर क्यान्सर अस्पतालले एकपटक किमोथेरापी गरेको ४० हजार रुपैयाँसम्म लिने गरेको छ । भारत अथावा अन्य देशमा गएर एक पटक किमो गराएको यही तुलनामा धेरै रकम खर्च हुने गर्छ ।

नेपालमा क्यान्सर पीडितहरु हरेक वर्ष बढ्दैछन् । क्यान्सर हुने सबैले नेपालमा गुणस्तरीय उपचार पाउन सकेका पनि छैनन् । कतिपय क्यान्सर पीडितहरु विदेशमा नै क्यान्सरको उपचारको लागि जाने गरेका छन् । नेपाल क्यान्सर रिलिफ सोसाइटीका अनुसार नेपालबाट नै बर्सेनि ३ सयभन्दा बढी क्यान्सरका विरामीहरु विदेशमा उपचारका लागि जाने गरेका छन् ।

क्यान्सरको उपचार महंगो भएकाले पनि अधिकांश मानिसहरु उपचार गर्न नसकेर मृत्युको मुखमा पुगेका छन् । नेपालमा अहिलेसम्म कति क्यान्सर रोगी छन् र बर्सेनि क्यान्सरबाट कति जनाको मृत्यु हुने गरेको छ, भन्ने आधिकारिक तथ्यांक छैन । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार वार्षिक झण्डै ४० हजार नयाँ क्यान्सर रोगी थपिने गरेका छन् । नेपालमा अहिले झण्डै १ लाखभन्दा बढी क्यान्सर रोगी रहेको अनुमान छ ।

विश्वमा नै हेर्ने हो भने विश्व स्वास्थ्य संगठनले क्यान्सर रोगबाट बर्सेनि साढे दुई करोड मानिस पीडित हुने गरेको तथ्यांक निकालेको छ । विश्वभरबाट झण्डै ८० लाख मानिसले क्यान्सर रोगकै कारण ज्यान गुमाउँदै आएका छन् ।

‘नेपालमा पनि क्यान्सर रोगिको संख्या वार्षिक रुपमा बढ्दै गइरहेको छ’ भक्तपुर क्यान्सर अस्पतालका डाक्टर राजेन्द्र बरालले भन्नुभयो, ‘नेपालमा सबैभन्दा बढी फोक्सोको क्यान्सर हुने विरामी रहेका छन् । यस्तै, महिलाहरुमा भने पाठेघरको क्यान्सर धेरै भएको पाइएको छ । युवतीहरुमा स्तन क्यान्सरको समस्या पनि निकै बढेको छ ।’

क्यान्सर के हो ?
अस्वभाविक रुपमा कोषिकाको वृद्धिलाई नै क्यान्सर भनिन्छ । नयाँ बन्ने कोष तथा कोषिकाहरूको वृद्धिक्रम सामान्य अवस्थामा कोषभित्र रहेको डिएनएले नियन्त्रण गरिरहेको हुन्छ । विभिन्न कारणले स्वास्थ्यमा खराबी आई कोष तथा कोषिकाहरुको वृद्धि अनियन्त्रित भई विस्तारै स–साना गिर्खा बन्दछ । शरीरमा छिटोछिटो बढ्ने, नोक्सान गर्ने, एक स्थानबाट अर्का स्थानमा सर्न सक्ने यसप्रकारका गिर्खालाई क्यान्सर भनिन्छ ।

स्तन क्यान्सर, पाठेघरको क्यान्सर, छालाको क्यान्सर, फोक्सोको क्यान्सर, आन्द्राको क्यान्सर, प्याङ्क्रियाज, पित्त थैलीको क्यान्सर, रक्त क्यान्सर, प्रोस्टेट क्यान्सरलगायत विश्वमा सयभन्दा बढी प्रकारका क्यान्सर छन् ।

नेपालमा क्यान्सरका विरामी बढ्दै जानुमा अस्वस्थ्यकर खानपान, रहनसहन र वातावरणीय प्रदुषण प्रमुख रहेका छन् । यसबाहेक पनि अन्य कारणहरु रहेका छन् जसमा :

१. धुमपान तथा सूर्तिजन्य पदार्थको सेवनले गर्ने असर

२. मादक पदार्थको सेवन गर्नाले

३. खानपानले पार्ने असर

४. हानिकारक विकिरणको असर

५. वातावरण प्रदुषणको असर

६. विभिन्न किसिमका व्याक्टेरिया र भाइरसको असर

डाक्टर बरालका अनुसार हामीले खानपानमा मात्रै ध्यान दिने हो भने मात्रै पनि क्यान्सरलाई रोकथाम गर्न सक्छौँ । पछिल्लो समयमा युवतीहरुमा स्तन क्यान्सर बढ्दो छ । बरालले भन्नुभयो ‘यही अनुपातमा स्तन क्यान्सर बढ्दै गयो भने दुई वर्षमा नेपालमा सबैभन्दा बढी स्तन क्यान्सरका विरामीहरु बढी भेटिन सक्छन् ।

नेपालमा क्यान्सरको उपचार
नेपालमा पछिल्लो समय क्यान्सरको उपचार प्रभावकारी बन्दै आएको छ । भक्तपुर क्यान्सर अस्पतालका डाक्टर बरालले भन्नुभयो, ‘अहिले नेपालमा प्रभावकारी रुपमा क्यान्सरको उपचार भइरहेको छ । तर पनि विदेशमा जाने पनि धेरै छन् । नेपालमा राम्रो उपचार नहुने होइन । नेपालमा भन्दा विदेशमा उपचार गराउँदा बढी नै खर्च हुन आउँछ ।’

नेपालमा पहिला किमोथेरापी नहुने हुँदा बढी क्यान्सरका रोगिहरु विदेश नै जानुपर्ने हुन्थ्यो अहिले त्यो समस्या भने हटेको छ । नेपालमा नै राम्रो उपचार हुन थालेको छ ।

क्यान्सरको लक्षण
क्यान्सरका लक्षण रोगपिच्छे फरक हुने गर्दछ । लामो समयसम्म घाउ, खटिरा निको नहुनु, शरीरका विभिन्न भागबाट रगत बग्नु, पीपसहितको रगत आउनु, गिर्खा देखा पर्नु आदि क्यान्सर रोगका लक्षण हुन् ।

त्यसबाहेक बारम्बार कब्जियत हुनु, वान्ता हुनु, खाना निल्न अप्ठेरो हुनु, थकान महसुस हुनु, अस्वाभाविक तरिकाले शरीर दुख्नु, पोल्नु, अस्वभाविकरुपमा टाउको दुख्नु पनि क्यान्सरका प्रमुख लक्षणहरु मानिन्छ ।

जोगिने उपाय
हामीले सबैभन्दा पहिला रोग लाग्नबाट कसरी बच्ने भन्ने कुरा पहिला सोच्न उपयुक्त हुन्छ । हाम्रो दैनिक क्रियाकलापले पनि हाम्रो रोगलाई नियन्त्रण गर्न सक्छ । हामीले ६० प्रतिशत रोगलाई आफूले गर्ने क्रियाकलापबाट पनि कम गर्न सक्छौँ भने केही कुरामा ध्यान दियौँ भने रोग लाग्नबाटै पनि बच्न सक्छौँ ।

पछिल्लो समयमा युवा अवस्थामा नै क्यान्सरको समस्या बढ्नुको मुख्य कारण जंक फूड रहेको डाक्टर बरालले बताउनुभयो । हामीले क्यान्सरबाट बच्नका लागि खानपिन, शारिरीक व्यायाम आदी क्रियाकलापमा ध्यान पुर्याउनुपर्ने हुन्छ । यसबाहेक यी कुरामा ध्यान दिन डाक्टर बरालको सुझाव छ ।

१. शरिरको कुनै अंगमा लामो समयसम्म चिलाउने, दुख्ने, गिर्खा आउनेजस्तो समस्या देखियो भने तत्काल डाक्टरको सल्लाह लिने,

२. लामो समयसम्म प्रदुषण भएको ठाउँमा, घाममा वा धेरै हावा चल्ने ठाउँमा नबस्ने

३. महिलाहरुले बच्चा जन्मदा भएको गर्भाशयको चोट या घाउको तत्काल उपचार गरि निको पार्ने ।

४. नियमित रुपमा आफैँले स्तनहरुको जाँच गरिरहने, केही शंका लागेमा तत्काल उपचारको लागि विशेषज्ञहरुको परामर्श लिने,

५. नियमित रुपमा क्यान्सर विशेषज्ञद्वारा वर्षको १ पटक शरिरको परीक्षण गराउने ।
उज्यालो अनलाईनबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*