खेलकुद मन्त्रीको सय दिने कार्ययोजना : खेलकुद अस्पतालदेखि ७ वटै प्रदेशमा आधुनिक रंगशाला

ए वान डेस्क
२३ चैत्र २०७४, शुक्रबार १९:१०

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले आफ्नो कार्यकालको सय दिने कार्ययोजना सार्वजनिक गर्नुभएको छ ।

मन्त्री विश्वकर्माले सरकार गठन भएको मितिदेखि सय दिन भित्र काम सुरु गरिने प्रतिबद्धतासहित महत्वकांक्षी कार्ययोजना प्रस्तुत गर्नुभएको छ । कार्ययोजनामा पूर्वाधार विकासका बुँदाहरु धेरै छन् । सबै परियोजनाको सुरुवात हुने उहाँले बताउनुभयो ।

मन्त्री विश्वकर्माले जनताप्रति जवाफदेही हुनेगरी काम गर्न सय दिनमा गर्ने प्रमुख कार्यहरु समेटिएको जानकारी दिनुभयो । उहाँले देशलाई समृद्ध बनाउने सरकारको प्रतिबद्धता पूरा गर्न पनि कार्ययोजना सार्वजनिक गर्नु परेको स्पष्ट पार्नुभयो ।

कार्ययोजनामा काठमाडौं उपत्यकाभित्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि आवश्यक पर्ने जग्गाको पहिचान गर्ने योजना अघि सारिएको छ । मन्त्री विश्वकर्माले खेलकुद क्षेत्रको विकासका लागि गाउँ तहदेखि नै पूर्वाधार निर्माणको कामलाई पनि अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी, मूलपानी क्रिकेट मैदानमा जग्गासम्बन्धी देखिएको विवाद तत्काल समाधान गर्ने पनि कार्य योजनामा उल्लेख गरिएको छ । ४७ आना जग्गाको मुआब्जा विवाद अन्त्य गरी अर्को आर्थिक वर्षसम्ममा रंगशाला निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको मन्त्री विश्वकर्माले जानकारी दिनुभयो ।

त्यस्तै, सुविधासम्पन्न अर्को रंगशाला निर्माण तथा सातै प्रदेशमा रंगशाला निर्माणका लागि स्थान पहिचानको कार्य १०० दिनभित्र सक्ने योजना मन्त्रालयको रहेको छ । ‘वाम गठबन्धनको घोषणापत्रमै काठमाडौंमा अत्याधुनिक ठूलो र सात प्रदेशमा आधुनिक रंगशाला बनाउने उल्लेख छ । त्यही अनुसार काम गर्छौँ ।’ मन्त्री विश्वकर्माले भन्नुभयो ।

त्यसैगरी दशरथ रंगशाला परिसरमै खेलकुद अस्पतालको निर्माण कार्य सुरु गर्ने प्रतिवद्धता पनि व्यक्त गरिएको छ ।

मन्त्री विश्वकर्माले राष्ट्रिय खेलकुद नीतिको आवश्यक परिमार्जन गर्ने, १२ वर्षे खेलकुद गुरु योजनाको मस्यौदा तयार पार्ने, पोखरा, तुलसीपुर र इटहरीलाई खेलकुद शहरको रुपमा विकास गर्नका लागि आवश्यक सम्भाव्यता अध्ययनको काम सम्पन्न गर्ने पनि बताउनुभयो ।

धुर्मुस सुन्तलीले क्रिकेट रंगशाला निर्माणका लागि चालेको कदम सकारात्मक रहको भन्दै मन्त्री विश्वकर्माले भन्नुभयो, ‘हरेक नेपालले देशका लागि सकारात्मक योगदान दिन पाउने अधिकार राख्छ, त्यसैअनुसार उहाँहरु रंगशाला निर्माणमा अघि बढ्नुभएको छ । सरकारको, मन्त्रालयको र मेरो पूर्ण साथ छ ।’

त्यसैगरी, मन्त्रालयले १३ औँ दक्षिण एसीयाली खेलकुद प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माणको कामलाई द\ गतिमा अघि बढाउने योजना पनि सार्वजनिक गरेको छ ।

केपी ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएको जेठ १३ गते १०० दिन हुँदैछ । यही समय भित्र गर्ने प्रमुख कामहरुको योजना शुक्रबार सार्वजनिक गरिएको हो । मन्त्री विश्वकर्माले ती कार्य योजना अनुसारको कामहरुको प्रगति विवरण जेठ १७ गते सार्वजनिक गर्ने घोषणा पनि गर्नुभयो ।
उज्यालो अनलाईनबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*