बल्ल बढ्यो उखुको मूल्य

ए वान डेस्क
४ बैशाख २०७५, मंगलवार २२:२७

सरकारले भारतबाट आयातीत चिनीको भन्सार महसुल १५ प्रतिशत बढाउने निर्णय गरेको छ। नेपालका चिनी उद्योग र उखु किसान मर्कामा परेको भन्दै विदेशबाट अायात हुने चिनीको भन्सार महसुल बढाउन लागेको हो।

सरकारले नेपाली उद्योगी र कृषकलाई प्रोत्साहन गर्न आयात गरिने चिनीको भन्सार महसुलमा १५ प्रतिशत बढाउन लागेको सरकारका प्रवक्ता एवम् संचार, सूचना तथा प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए। आज बसेको मन्त्रिपरिषदको बैठकले उखु किसानहरूको समस्या समाधान गर्न उखुको मूल्य पनि बढाउने भएको हो।

सरकारले उखुको मूल्य प्रति क्विन्टल ५ सय ३६ रुपैयाँ ६५ पैसा तोकेको छ। प्रति क्विन्टल ५ सय ३१ रुपैयाँमा बेच्दै आएका थिए। उखुको मूल्य बढे पनि बजारमा चिनीको मूल्य भने नबढ्ने भएको छ। सरकारले चिनीको मूल्यमा प्रति किलो ७० रुपैयाँभन्दा नबढाउने गरी आवश्यक व्यवस्थापन गर्ने भएको छ। त्यस्तै, आजैको बैठकले विदेशी विनिमय व्यवस्थापन गर्न बनेको विधेयकको अवधारणालाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ भने कर्मचारी संचयकोषको प्रशासकमा तुलसीप्रसाद गौतमलाई नियुक्त गर्ने भएको छ।

सरकारले आर्थिक कार्यविधि पहिलो संशोधन स्वीकृत गर्ने निर्णय गरेको छ। पहिलो संशोधनमा विद्युतीय भुक्तानी प्रणालीलाई सुनिश्चित गर्न सरकारले आर्थिक कार्यविधि पहिलो संसोधन गर्न लागेको संचार राज्यमन्त्री बाँस्कोटाले जानकारी दिए। त्यसैगरी सकारले बाहिरी चक्रपथ निर्माण गर्न सतुंगल क्षेत्रको ६.६ बर्गकिलोमिटर जग्गा एकीकरण योजना संचालन गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणलाई उपलब्ध गराउने निर्णय गरेको छ।

यातायातका क्षेत्रमा एकाधिकार कायम गरेका यातायात व्यावसायीप्रति सरकार कडा रूपमा प्रस्तुत भइरहेको छ साथै सरकारले संघसंस्था नवीकरण गर्ने प्रावधानलाई पनि कडा पार्ने निर्णय गरेको छ। स‌ंस्था दर्ता ऐनअन्तर्गत यातायात क्षेत्रसँग सम्बन्धित संघसंस्था नवीकरण गराउँदै आएका व्यवसायीले अब कम्पनी ऐनअन्तर्गत नविकरण गराउनुपर्ने भएको छ। यसअघि जिल्ला प्रशासन कार्यालयबाट यातायात व्यवसायीहरूले संघसंस्थाहरूको नविकरण गर्दै आएका थिए।

प्रदेश, केन्द्र र संघबीचको आन्तरिक सुरक्षा व्यवस्था समन्वयसम्बन्धी कार्यकारी निर्देशन पनि जारी गरेको छ। कानुन तर्जुमा र परिमार्जन नहुन्जेलसम्मका लागि कार्यकारी निर्देशन जारी गरेको संचारमन्त्रीले जानकारी दिए। त्यसैगरी, सरकारले मन्त्रालयमा रहेका विभाग र त्यहाँ दरबन्दीमा रहेका कर्मचारको कटौती गर्ने निर्णय गरेको छ। १२ वटा मन्त्रालयमा ४० वटा विभाग रहेकोमा छवटा विभाग कटौती गरेर ३४ मा झार्ने निर्णय गरेको हो। छ वटा विभाग घटाउँदा २६.७३ प्रतिशत दरबन्दी कटौती हुने भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*