पेट्रोलियम पाइपलाइनको शार्वजनीक सुनुवाईमा कसले के भने ?
नेपाल भारत पेट्रोलियम पाइपलाइन पर्सा राष्ट्रिय निकुञ्जको पूर्वतर्फबाट लैजानु उपयुक्त हुने सरोकारवालाहरुले बताएका छन् ।
बाराको सिमरामा रक्सौल अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन (ईआईए) को मस्यौदा प्रतिवेदनका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले यस्तो सुझाव दिएका हुन् ।
उनीहरुले पाइपलाइन निर्माण गर्दा सकेसम्म कम भन्दा कम वातावरणीय क्षति हुने सुझाव समेटेर प्रतिवेदन तयार पार्न आग्रह गरे । पर्सा राष्ट्रिय निकुञ्जको पश्चिमपट्टीबाट पाइपलाइन लैजाँदा ऐतिहासिक, पोखरी धारा, निकुञ्ज अगाडि रहेको हात्तीखोरसमेत हटाउनुपर्ने भएकोले पूर्वपट्टीबाटै लैजानुपर्ने बताएका हुन् ।
सडकको पश्चिमतर्फबाट पाइपलाइन लैजाँदा निकुञ्जभित्रको ४ हजार ९ सय ९० वटा रुख काट्नुपर्ने हुन्छ । सँगसँगै परवानीपुरमा रहेको हनुमान मन्दिर, निकुञ्जको मुख्यद्वारमा रहेको हात्तीको मुर्ति, ऐतिहासिक महत्वको कामिनी धारामा असर पर्ने देखिएको छ ।
आयोजनाको २८ किलोमिटर खण्ड विस्तारित सडकमा, ८ किलोमिटर खण्ड पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने त्रिभुवन राजपथमा पर्छ । ८ किलोमिटर वन क्षेत्रमा पनि ४.८ किलोमिटर निकुञ्जको र बाँकी मध्यवर्ती क्षेत्रका सामुदायिक वन भित्रबाट जानेछ ।
पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले वातावरणीय क्षति कम हुने र लागत कम पर्ने बाटो खोज्नुपर्ने बताए । ‘अनावश्यक रुपमा ५/५ हजार विरुवा काट्ने काम गर्नुहुन्न । कुन विकल्प उपयुक्त हुन्छ भनेर प्रतिवेदनमा उल्लेख हुनुपर्छ । निर्णय सरकारले जे पनि गर्न सक्छ’ उनले भने ।
बाराका प्रमुख जिल्ला अधिकारी विजय मानन्धरले के गर्दा वातावरणीय प्रभाव कम हुन्छ त्यसमा ध्यान दिनुपर्ने बताए ।
जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा कृष्ण पौडेलले वन र वन्यजन्तुमा पार्ने प्रभावलाई ध्यान राखेर पाइपलाइन बनाउनुपर्ने बताए ।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले वातावरणमा कम भन्दा कम क्षति होस् भन्ने नै आफूहरुको धारणा रहेको बताए ।
वातावरणीय प्रभाव मुल्याङ्कन गरिरहेको संस्था प्लान एट काठमाण्डुका निरञ्जन श्रेष्ठले वातावरणीय अध्ययन प्रतिवेदनको काम आयोजना सुरु हुनु अगावै हुनुपर्ने भए पनि केही ढिलो भएको बताए ।
‘ईआईए प्रतिवेदन स्वीकृत गरिसकेपछि आयोजना ठेक्कामा जानुपर्ने हो तर दुईवर्ष अगाडि नै ठेक्का सम्झौता भइसकेको छ । बल्ल आएर वातारण अध्ययन प्रतिवेदन तयार हुँदैछ ।’ उनले भने ‘हामी छिटो भन्दा छिटो प्रतिवेदन तयार गरेर बुझाउने प्रयासमा छौं ।’
परियोजनाका प्रबन्धक एवं नेपाल आयल निगम अमलेखगञ्ज डिपोका प्रबन्धक प्रदीप यादवले पाइपलाइन विस्तारको काम डेढ महिनामा सक्नेगरी काम अघि बढेको बताए । पाइपलाइनको माध्यमबाट पेट्रोल डिजेल र मट्टतिेलको ल्याउन सकिनेछ । यसको इन्धन बहाव क्षमता मोतिहारीमा २ सय ९४ किलोलिटर प्रतिघण्टा र रक्सौलमा १ सय ९१ किलोलिटर प्रतिघण्टा हुनेछ । यसबाट अर्बौ रुपैयाँ बचत हुने अनुमान गरिएको छ ।
सडक विभाग व्यापारिक मार्ग आयोजनाका इन्जिनियर अशोक यादवले पाइप पूर्व वा पश्चिम जता विच्छ्याए पनि आपत्ति नरहेको बताए ।















