जीतपुर बजार क्षेत्रको समस्या समाधान नजिक

पथलैया–वीरगन्ज सडकखण्डमा निर्माण भईरहेको ६ लेनको ब्यापारिक मार्ग विस्तारका क्रममा जीतपुरमा देखिएको समस्या समाधानतर्फ उन्मुख भएको छ । स्थानिय जनप्रतिनिधि र जीतपुरका स्थानियको अगुवाईमा जीतपुर बजार क्षेत्रको समस्या समाधानको नजिक पुगेको हो । स्थानियले क्षतिपूर्तिको माग राखेपछि जीतपुर बजारको करिब एक हजार एक सय मिटर क्षेत्रमा सडक विस्तार कार्य प्रभावित हुन पुगेको थियो ।
स्थानियले राखेको मागका कारण सडक विस्तारको काम अघि बढ्न सकेको थिएन् । सडक विस्तारका लागि वातावरण सहज बनाउन जीतपुरसिमरा उपमहानगर र ब्यापारिक मार्ग आयोजनाको कार्यलय पटकपटक स्थानिय अगुवासंग छलफल गरिरहेको थियो ।
छलफलका क्रममा २०३४ साल भन्दा अघि निर्माण भएको घरटहराको क्षतिपूर्ति दिन सकिने ब्यवस्था ऐनमा रहेको र त्यसबाहेक अन्यको हकमा क्षतिपूर्तिको ब्यवस्था नरहेको आयोजनाको कार्यलयले स्पष्ट पारेपछि स्थानिय अगुवाहरु राजमार्ग विस्तारको पक्षमा देखिएका हुन् । यसअघि बैदेशिक अनुदानमा जीतपुर बजारमा चार लेनको सडक निर्माण हुदा क्षतिपूर्ति पाएको भन्दै स्थानियले यसपटक पनि मुआब्जाको माग राखेका थिए ।
आयोजनाले भने यसपटक सरकारले निर्माण गर्न लागेको ब्यापारिक मार्गमा क्षतिपूर्तिको ब्यवस्था नरहेको बताउदै आएको छ । आयोजनाको कार्यलयले सडक विस्तारमा अवरोध नगर्न र घरटहरा भत्काउन सूचना समेत पटकपटक प्रकाशित गर्दै आएको छ । राजमार्ग विस्तारका लागि स्थानिय सकारात्मक देखिएपछि आयोजनाको कार्यलयले स्थानियसंग सहकार्यमै सडक निर्माणको कामलाई अघि बढाउने भएको छ ।
पथलैयास्थित आयोजनाको कार्यलयमा आईतवार भएको छलफलमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष रामबाबु गुप्ताले जीतपुरबासी सडक निर्माणमा बाधक नबन्ने भन्दै घरटहरा भत्काउनका लागि असार मसान्तसम्मको समयसिमा दिन आग्रह गरेका छन् । स्थानियबासीको समर्थन र सहयोगमै सडक विस्तारको कामलाई अघि बढाउन उपयुक्त हुने भन्दै वडाअध्यक्ष गुप्ताले जीतपुरका राजनितिक दलका नेता र स्थानिय अगुवाहरु सकारात्मक ढंगले अघि बढिरहेको बताए ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय साहले २०३४ साल भन्दा अघि बनेको घरटहराको तथ्यांक संकलनको काम अघि बढाउन आग्रह गरेका छन् । केही स्थानियले घरटहरा हटाउन लाग्ने रकम समेत जुटाउन सक्ने अवस्था नरहेको हुदा आयोजनाकै स्रोतसाधन प्रयोग गर्न समेत साहले आग्रह गरे । आयोजना प्रमुख रविन्द्रलाल दासले स्वस्फूर्त घरटहरा भत्काउन स्थानिय सकारात्मक देखिएकोमा खुशी ब्यक्त गर्दै स्थानियले अुनरोधपत्र आएमा त्यस बिषयमा आफूले माथिल्लो निकायमा पहल गर्ने बताए ।
छलफलमा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेल, स्थानिय अग्रज कृष्णब्रत सिंह, शिवजि साह, गणेशजि साहलगायत स्थानिय जनप्रतिनिधिको उपस्थिती रहेको थियो ।