चितवनमा पर्यटन व्यवसायीहरुको भेला सम्पन्न, जेठ दोश्रो साता भारत भ्रमण गर्ने निर्णय

ए वान डेस्क /
चितवनको सौराहमा पर्यटन व्यवसायीहरुको भेला सम्पन्न भएको छ । सौराहमा आयोजित भेलामा बिभिन्न ५ जिल्लाका पर्यटन व्यवसायीहरु सहभागी भएका थिए ।
छलफलमा चितवन विकास समितिका अध्यक्ष दिलिप मैनाली, महासचिव बिश्वराज सुवेदी, होटल व्यवसायी संघ सौराहका अध्यक्ष सुमन घिमिरे, हानका महासचिव राममणी खनाल, होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछाने, नवलपुर पर्यटन संस्थाका उपाध्यक्ष डिवि चौधरी, अमलटारी मध्यवर्ती सामुदायीक होमस्टेका प्रतिनिधि नरबहादुर महत्तो, मकवानपुर होटल व्यवसायी संघका अध्यक्ष भागिरथ शर्मा, पर्यटन व्यवसायी बिष्णु गोपाल महर्जन लगायतको उपस्थिति रहेको थियो । भेलामा चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटनको सम्भावना र चुनौतीका बिषयमा छलफल भएको थियो ।
छलफलमा बारा, मकवानपुर, चितवन, नवलपरासी र रुपन्देही जिल्लाका पर्यटन व्यवसायीहरु सहभागी थिए । भेलाले चितवन र पर्सा राष्ट्रिय निकुञ्जको अवस्था बारे जानकारी गराउन भारत भ्रमण गर्ने निर्णय गरेको छ । भारतको बिभिन्न स्थानमा हुने सभामा चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्धनको अवस्था र पर्यटकले लिन सक्ने लाभका बिषयमा त्यहाका पर्यटन व्यवसायीहरुलाई जानकारी गराईने चितवन विकास समितिका अध्यक्ष दिलिप मैनालीले जानकारी दिनुभयो ।
यसैबिच, पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटनको अवस्थाबारे जानकारी गराउदै होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । ‘हामीले पर्सा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्धन गर्न बिभिन्न तालिमहरु सञ्चालन गर्दे आएका छौ, अतिरिक्त क्रियाकलाप बाहेक अब सबैको साथ र सहयोग आवश्यक छ’ छलफलमा उहाले भन्नुभयो ।
यस्तै होटल व्यवसायी संघ मकवानपुरका अध्यक्ष भागिरथ शर्माले मकवानपुरमा पर्यटन प्रवद्धनको अवस्था राम्रो भएपनि सरकारी प्रयास अपुग भएको बताउनुभयो । छलफलमा चितवन विकास समितिका अध्यक्ष दिलिप मैनालीले चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्धनको अवस्थाबारे जानकारी गराउन गर्न लागिएको भारत भ्रमणले सफल्ता प्राप्त गर्ने बिश्वास व्यक्त गर्नुभयो ।