पर्सा लागू औषध निषेधित जिल्ला घोषणा

ए वान डेस्क
२२ बैशाख २०७५, शनिबार २२:१२

पर्सालाई लागू औषध निषेधित जिल्ला घोषणा गरिएको छ । लागू औषधमुक्त जिल्ला बनाउन जिल्ला प्रहरी कार्यालय पर्साले शुरु गरेको लागू औषध रोकथाम महाअभियान मार्फत लागू औषध निषेधित क्षेत्र घोषणा गरिएको हो ।

लागू औषध उत्पादन ओसार पसार, बेचबिखन, दुव्र्यसन रोकथाम र नियन्त्रणको लागि सम्पूर्ण पर्सा जिल्लालाई लागू औषध निषेधित क्षेत्र घोषणा गरिएको प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले जानकारी दिए ।

‘पर्सा जिल्लामा ७० प्रतिशत मुद्दा लागू औषधकै हुने गरेको छ । त्यसैले यसको नियन्त्रण आवश्यक देखेर सचेतना अभियान शुरु गरेका छौं’, उनले भने ‘यसको उत्पादन, ओसार पसार र सेवन तीनै कुरालाई निरुत्साहित गर्न अभियान मार्फत कामहरु गर्छौं, त्यसका लागि सबै स्थानीय तहमा समिति गठन गर्ने तयारी गरिरहेका छौं ।’

अभियानको क्रममा आज वीरगञ्ज महानगरपालिका लगायत पर्सा जिल्लाको १४ वटै स्थानीय तहमा लागू औषधविरुद्ध सचेतनामूलक र्‍याली निकालिएको छ । ‘दुव्र्यसन रहित स्वस्थ र सभ्य समाजको निर्माण गरौं’ भन्ने नाराका साथ सम्पूर्ण स्थानीय तहमा सचेतनामुलक र्‍याली निकालिएको नया गोरेटो पुर्नस्थापना केन्द्र पथलैयाका अध्यक्ष राजकुमार लामाले जानकारी दिनुभयो ।

सचेतनामुलक र्‍यालीमा सहभागीहरुले लागू औषधको नशा, जीवनको दशा, लागू पदार्थलाई होइन, स्वास्थ्यलाई ध्यान दिऔं, लागू औषधरहित समाज निर्माण हाम्रो अभियान जस्ता सचेतनामुलक नारा लेखिएको प्ले कार्डहरु बोकेका थिए ।

वीरगञ्जको घण्टाघरबाट निकालिएको र्‍याली माईस्थान, आदर्शनगर, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आएर कोण सभामा परिणत भएको थियो । सभामा बोल्दै पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले लागू औषध सेवनका कुलतमा लागिसकेपछि भन्दा प्रारम्भमै नसफसून भनेर ध्यान दिनु आवश्यक रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*