अमलेखगञ्जलाई ‘पर्यटन केन्द्र’ बनाउन छलफल

ए वान डेस्क
२३ बैशाख २०७५, आईतवार १५:१४

पर्यटन विकास र प्रवद्र्धनका निम्ति योजना बनाउन लागिरहेको जीतपुरसिमरा उपमहानगरको नगरस्तरीय पर्यटन समितिको बैठक अमलेखगंजमा सम्पन्न भएको छ । पर्यटन केन्द्रको रुपमा अघि बढाउन लागिएको अमलेखगञ्जमा बसेको समितिको बैठकले उपमहानगरभित्रको एतिहासिक स्थलको संरक्षण, पर्यटन हबको आधारभूत पूर्वाधार बिकासलगायत विभिन्न बिषयमा छलफल गरेको छ ।

बैठकमा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले पर्सा राष्ट्रिय निकुञ्जलाई मध्यनजर गर्दै चुरिया–अमलेखगञ्ज–पथलैया–सिमरा विशेष पर्यटन हवको रुपमा विकास गर्ने उपमहानगरले निर्णय गरिसकेको र त्यसको कार्यान्वयन प्रक्रियासमेत अघि बढेको बताए । पर्यटन उमहानगरको आन्तरिक आय र नगरवासीको जीवनस्तर रुपान्तरणको एक सशक्त माध्यम बन्ने भन्दै मेयर डा. पौडेलले अत्यन्त सम्भावना रहेको अमलेखगञ्जलाई पर्यटन केन्द्रको रुपमा विकास गर्न आवश्यक रहेको बताए ।

अमलेखगञ्ज ऐतिहासिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् बहुभौगोलिक क्षेत्र भएकोले त्यसैलाई आधार बनाएर पर्यटनकेन्द्र बनाउन सकिने भएकोले पर्यटन हवको अवधारणासहित पूर्वाधार विकास र प्रवद्र्धनका लागि योजना बनाउन लागिरहेको डा. पौडेलले बताएका छन् ।

बाराको एतिहासिक धार्मिक स्थल गढीमाई, सिम्रौनगढ, वीरगन्ज, जनकपुर, हेटौडाको कारण पनि जीतपुरसिमरा पर्यटनको केन्द्र बन्न सक्ने आधार रहेको मेयर डा. पौडेलको भनाई थियो । बैठकमा सहभागीले अमलेखगञ्जलाई पर्यटन हबको रुपमा बिकास गर्नका लागि उपमहानगरसहित सरोकारवाला पक्षले हातेमालो गर्दै अघि बढ्नुपर्ने बताएका थिए ।

वैठकमा जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर सरस्वती चौधरी, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य, उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण उप्रेती, कार्यपालिकाका सदस्य, कृष्ण ठकुरी, मनिकलाल थिङ, रामरणशरण बर्तौला, भोजबहादुर खत्री, सुभद्रा न्यौपाने, नगर उद्योग वाणिज्य संघका अध्यक्ष संजय साह, होटल ब्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेलगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*