महिलामाथिको हिंसा न्यूनीकरणका लागि संयन्त्र बनाउन मन्त्री थापाको जोड

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा मगरले महिलामाथि हुने हिंसा न्यूनीकरणका लािग स्थानीय तहले विशेष संयन्त्र बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिपति महिला उत्थान’ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उहाँले स्थानीय तहका जनप्रतिनिधि सचेत नभएसम्म हिंसाका घटना न्यूनीकरण हुन नसक्ने बताउनुभएको हो ।
मन्त्री थापाले जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय सरकारले यस्ता घटना नियमित भइरहेका स्थानमा सुरक्षा समिति बनाउनुपर्नेे र स्थानीयवासीका लागि पनि सोहीअनुरुप जनचेतना कार्यक्रम सञ्चालन गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “महिला, बालबालिका र विशेष अवस्थाका महिलामाथि बलात्कार हुँदा अपराधीलाई मृत्युदण्ड नभई आजीवन कारागारको सजाय दिन सोहीअनुरुप कानून निर्माणको प्रक्रिया शुरु भएको छ ।”
बालबालिका मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले सबैजनाले आ–आफ्नो स्थानबाट हिंसा न्यूनीकरणका लागि प्रयास गर्ने हो भने यसका लागि छुट्टै कार्यक्रमको आवश्यकता नपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समितिका अध्यक्ष श्याम सुन्दरराज वैद्यले देशले राजनीतिक रुपमा फड्को मारे पनि पितृ सत्ताका कारण महिलामाथि हुने हिंसामा कमी आउन नसकेको जानकारी दिनुभयो ।
भोलिसम्म सञ्चालन हुने उक्त कार्यक्रम निशा बानियाँले ‘लैङ्गिक हिंसा निवारणमा स्थानीय तहको भूमिका’, पेम्मा लामाले ‘लैङ्गिक समानताको अवधारणा’ र महिला बालबालिका विभागका प्रतिनिधिले ‘लैङ्गिक हिंसा निवारणमा सरकारको प्रयास’ का विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । रासस