वातावरण मन्त्रालयको टोलिद्धारा जगदम्बा स्टिलको अनुगमन, तत्काललाई बन्द भयो जेनेरेटर

प्रदिप गौतम /
बाराको सिमरामा रहेको जगदम्बा स्टिल प्रा.लिको आज अनुगमन गरिएको छ । जगदम्बा स्टिलले अत्याधिक मात्रामा ध्वनी र वायु प्रदुषण गरेको भन्ने जन–गुनासाको माझ आज अनुगमन गरिएको हो । जगदम्बा स्टिलको अनुगमन गर्न वडा नम्बर २ का वडा अध्यक्ष तिलक बहादुर श्रेष्ठको अध्यक्षतामा आज बिहान अनुगमन समिति गठन गरिएको थियो ।
राधाकृष्ण मध्यवर्ती सामुदायीक बन उपभोक्ता समुहको कार्यालय परिषरमा आज बिहान आयोजित छलफल कार्यक्रमकाबिच अनुगमन समिति गठन गरिएको हो । समितिमा जनप्रतिनिधि, उद्योगि वाणिज्य संघका प्रतिनिधि, बन समुहका पदाधिकारी, सञ्चारकर्मी लगायत रहेका छन् । वातावरण मन्त्रालयका वातावरण निरिक्षक निर्मल चौधरीको नेतृत्वमा आज बारा आएको टोलिले सरोकारवालासंगको छलफलपछि अनुगमन गरेको हो ।
सरोकारवालासंगको छलफल कार्यक्रममा जीतपुरसिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण पौडेल, प्रशासकिय अधिकृत रामकृष्ण उप्रेती, वडा नम्बर १ का वडा अध्यक्ष हिराबहादुर गुरुङ्ग, वडा नम्बर २ का वडा अध्यक्ष तिलबहादुर श्रेष्ठ, वडा नम्बर ३ का वडा अध्यक्ष जगरनाथ घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
छलफल कार्यक्रममा सहभागी अधिकासंले जगदम्बा स्टिल प्रा.लिले बर्षोदेखि मानव स्वास्थ्यसंग खेलवाड गरिरहेको बताए । पटक पटक ध्वनी प्रदुषण नियन्त्रण गर्न आग्रह गर्दापनि अटेर गर्दे आएको भन्दै तत्काल अनुगमन गरी उचित कदम चाल्न उनीहरुले आग्रह गरेका थिए ।
छलफलमा जीतपुरसिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले नगरवासीको समस्याप्रति उपमहानगर गंभिर रहेको बताउनुभयो । जीतपुरसिमरा उप–महानगरपालिकामा रहेका उद्योगबाट निस्किने प्रदुषण नियन्त्रण गर्न अत्याधुनिक प्रदुषण मापन यन्त्र जडान गर्ने तयारी भईरहेको समेत उहाले बताउनुभयो ।
छलफलमा मन्त्रालयका वातावरण निरिक्षक निर्मल चौधरीले अनुगमनपछि प्रतिवेदन निस्किनेभन्दै प्रतिवेदनका आधारमा उचित कदम चाल्ने बताउनुभयो । जीतपुरसिमरा उप–महानगरपालिकाबाट प्राप्त पत्रका आधारमा मन्त्रालयको टोलिले आज अनुगमन गरेको हो ।
जगम्बा स्टिलले जडान गरेको जेनेरेटरले स्थानीय वस्ति प्रभावित भएको भन्दै उप–महानगरपालिकाले अनुगमन गरिदिन मन्त्रालयलाई पत्र काटेको थियो ।
बन्द भयो जेनेरेटर
मन्त्रालयले अनुगमनको प्रतिवेदन शार्वजनीक नगरेसम्म जगदम्बा जडान गरिएको जेनेरेटर बन्द गरिएको छ । ‘अब प्रतिवेदन आएपछि मात्र सञ्चालन गर्ने की नगर्ने भन्ने कुरा थाहा हुन्छ, तत्कालका लागी भने बन्द गरिएको छ’ अनुगमन समितिका संयोजक समेत रहनुभएका वडा नम्बर २ का वडा अध्यक्ष तिलक श्रेष्ठले भन्नुभयो ।