परवानीपुरमा बहुप्राविधिक कृषी विद्यालयका लागि पहल गर्दैछौ : मेयर डा. पौडेल

जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले क्षेत्रीय कृषी अनुसन्धान केन्द्रमा बहुप्राविधिक कृषी विद्यालय स्थापनाको लागि उपमहानगरले पहल गरिरहेको बताएका छन् । परवानीपुरस्थित क्षेत्रीय कृषी अनुसन्धान केन्द्रमा मंगलवार आयोजित नेपाल कृषी अनुसन्धान परिषदको २७औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मेयर डा. पौडेलले कृषीको समग्र बिकासका निम्ति बहुप्राविधिक शिक्षालयको आवश्यकता रहेको बताए ।
कृषी अनुसन्धान केन्द्रको सशक्तिकरणका लागि पनि शिक्षालय आवश्यक रहेको भन्दै मेयर डा. पौडेलले कृषीमा आत्मनिर्भर बनाउने राष्ट्रको संकल्पमा टेवा पुग्ने बताए । नेपालको पहिचान कृषी रहेको भन्दै मेयर डा. पौडेलले कृषीप्रधान देशका कृषक नागरिक यस पेशाबाट पीडित हुनु निकै दुःखद् रहेको बताए ।
कृषीजन्य वस्तु समेत अन्य देशबाट आयात गर्नुपर्ने अवस्था रहेकोप्रति चिन्ता ब्यक्त गर्दै मेयर डा. पौडेलले कृषीलाई परम्परागत भन्दा पनि यान्त्रिकरण र ब्यवसायिकरणतर्फ अघि बढाउनुपर्ने बताए । कृषी क्षेत्रको बिकासले मुलुकको समृद्धिमा टेवा पुग्ने उनको भनाई थियो । मेयर डा. पौडेलले अनुसन्धान केन्द्रको संरक्षण, विज्ञ र कर्मचारी ब्यवस्थापनका लागि उपमहानगरले पहल गर्ने बताए ।
कार्यक्रममा बोल्दै परवानीपुर गाउपालिकाका अध्यक्ष हरिनारायण साहले अनुसन्धान केन्द्रलाई अझ ब्यवस्थित बनाएर अघि बढ्नुपर्ने बताए । कृषीको उर्वर भूमिमा रहेको अनुसन्धान केन्द्रबाट कृषकले प्रत्यक्ष लाभ पाउनुपर्ने अध्यक्ष साहको भनाई थियो ।
कार्यक्रममा कृषी अनुसन्धान परिषदका पूर्वनिर्देशक डा. रामवृक्ष चौरसिया, जिल्ला कृषी बिकास कार्यलय बाराका प्रमुख शिवरतन साह, जिल्ला कृषी बिकास कार्यलय पर्साका वीरेन्द्र सिन्हा, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ का अध्यक्ष अस्लम देवान, वीरगंज महानगरपालिका वडा नम्बर २१ वडा अध्यक्ष हबिब मियालगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा केन्द्रका अनुसन्धानकर्ता डा. टेकप्रसाद गोतामेले कृषी अनुसन्धान परिषद र क्षेत्रीय कृषी अनुसन्धान केन्द्रको काम र उपलब्धीका बारेमा प्रस्तुती दिएका थिए । क्षेत्रीय निर्देशक तुफैल अख्तरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मितालीकुमारी साहले गरेकी थिईन । कार्यक्रममा डा. अजीतकुमार झाले स्वागत मन्तब्य राखेका थिए ।