अबको शिक्षा प्रविधिमैत्री हुनुपर्छ : मेयर पौडेल

शिक्षालाई प्रविधिमैत्री बनाउने उपमहानगरको निति अनुरुप जीतपुरसिमरा उपमहानगरका मेयर डा. कृष्ण पौडेलले रामनगरस्थित एक सामुदायिक विद्यालयमा बुधवार कम्प्युटर शिक्षाको सुरुवात गरेका छन् ।
उपमहानगरको वडा नं. १७ रामनगरस्थित रघुनाथपुरमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षाको सुरुवात गरिएको हो । कम्प्युटर शिक्षाको सुरुवात गर्दै मेयर डा. पौडेलले अबको शिक्षा प्रविधिमैत्री र प्रविधियुक्त हुनुपर्ने बताए ।
उपमहानगर भित्रका विद्यालयको शैक्षिक स्तर सुधार गर्न लागिपरेको भन्दै मेयर डा. पौडेलले सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा अध्ययन र प्रविधियुक्त शिक्षाको अवधारणालाई कार्यान्यवन गर्दै अघि बढ्ने बताए । कम्प्युटर शिक्षा उद्घाटन कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण उप्रेती, वडा नम्बर १७ का अध्यक्ष नवराज खड्का, वडा नम्बर १८ का अध्यक्ष अर्जुनप्रसाद दहाल, विद्यालयका प्रध्यानाध्यापक सुरेन्द्र चौरसियासहित राजनितिक दलका प्रतिनिधि, अभिभावक, विद्यार्थीलगायतको उपस्थिती रहेको थियो ।
उपमहानगरको वडास्तर बजेटबाट विनियोजित पाच लाख रकमबाट विद्यालयमा कम्प्युटर शिक्षा सुरु गरिएको हो । कक्षाकोठामा २१ वटा कम्प्युटर र एक एउटा टिभि राखिएको छ । विद्यालयमा आठ सय विद्यार्थी अध्ययनरत छन् ।
यसैगरी मेयर डा. पौडेलले रघुनाथपुरमै सडक ढलानको समेत शिलन्यास गरेका छन् । नगरस्तरको योजना अन्तर्गत उपमहानगरको १० लाख र स्थानियबाट दुई लाख गरी १२ लाखको लागतमा बनाईने सडकको शिलन्यास गरिएको हो ।
रघुनाथपुर चोकबाट एक सय मिटर दक्षिणतर्फ निर्माण गरिने सडक ढलान शिलन्यास कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत उप्रेती, वडा नम्बर १७ का अध्यक्ष खड्का, वडा नम्बर १८ का अध्यक्ष दहाललगायतको उपस्थिती रहेको थियो ।